
प्रगतिशील लेखक सङ्घ, नेपाल रुपन्देही शाखाका उपाध्यक्ष विकास केसीको सडक दुर्घटनामा परि दिवंगत हुनुभएको एक बर्ष पुरा भएको छ । जिल्ला शाखा रुपन्देहीले दिवंगत केसीको सम्मान र सम्झनामा बुधवार बुटवलमा प्र्रथम स्मृति–सभा सम्पन्न गरेको छ ।
सभामा बोल्दै विभिन्न राजनीतिक दल, लेखक, बुद्धिजीवी एवं वक्ताहरुले रुपन्देहीको कम्युनिष्ट आन्दोलन र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा विकास केसीको महत्वपूर्ण भूमिका रहेको बताए । वक्ताहरुले विकास केसीका वर्तमान राज्यसत्ताप्रति तीव्र असन्तुष्टि रहेको भन्दै क्रान्ति, विद्रोह र समाज रुपान्तरणको पक्षमा अविचल रुपले कलम चलाउने प्रगतिवादी स्रष्टा भएको बताए ।
कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज शरद ओली, नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदी, प्रदेश नं. ५ सांसद कृष्णप्रसाद न्यौपाने, वामपन्थी लेखकद्धय दिल साहनी, बिनबहादुर कुँवर, कवि रामचन्द्र भट्टराई, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.डा. बाबुराम ज्ञवाली, राष्ट्रिय परिषद सदस्य हृदय लेकाली, विकास केसीका सहोदर भाई टोपवहादुर केसी लगायतले बोलेका थिए ।
कार्यक्रमको सन्दर्भमा जिल्ला शाखाले विकास केसी विशेषाङ्क मुखपत्र सार्वजनिक समेत गरेको थियो । कार्यक्रममा कवि दीपक विकले विकास केसीप्रति समर्पित कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको शाखा अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षता, स्वागत उपाध्यक्ष कविराज पौडेल, राष्ट्रिय परिषद सदस्य मिन रानाको धन्यवाद ज्ञापन र उपाध्यक्ष खोमा तरामु मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।







