चिनियाँ राष्ट्रपति सी जिनपिङले पछिल्लो समय जोड दिने शब्द भनेको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको यही सपना साकार पार्नका लागि ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न चीनले आक्रामक रुपमा गरिबी निवारण कार्यक्रमलाई अघि बढाइरहेको छ । सन् २०२० सम्म गरिबीको रेखामुनि रहेका जनतालाई त्योभन्दा माथि उकास्ने सरकारको लक्ष्य रहेको छ ।

यसैक्रममा गुइझाउ प्रान्तस्थित छ्याङ खुयी झा गाउँलाई त्यहाँको स्थानीय सरकारले ‘समाजवादको नमूना गाउँ’ को रुपमा विकास गरेको छ । यी जाती बसोबास गर्ने यस ठाउँमा ६ हजार परिवारका लागि वस्ती तयार गरिँदैछ । हाल भने यहाँ करीब ६ सय गरिब परिवार बस्दै आएका छन् । यो गाउँको निर्माण अझै जारी रहेको छ ।

गरिबी निवारण कार्यक्रम अन्तरगत नै यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत सुविधा नभएका विभिन्न विकट क्षेत्रका वासिन्दालाई यहाँ स्थानान्तरण गरिएको छ ।

यो गाउँलाई एउटा सानो सहरको रुपमा विकास गरिएको बताउँछिन् गुइझाओ विदेश विभागकी यु या । उनले सरकारले पूँजी लगानी गरे पनि यो गाउँको विकास र सञ्चालनको जिम्मा एउटा कम्पनीलाई दिएको बताइन् । उक्त कम्पनीले यस गाउँको सम्पूर्ण गतिविधि हेर्ने गरेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको यो गाउँमा स्कूलदेखि हस्पिटलसम्मको सुविधा रहेको छ । ९ वर्षसम्म यहाँ शिक्षा निःशुल्क रहेको छ भने उच्च शिक्षा हासिल गर्नका लागि निब्र्याजी ऋणसमेत प्राप्त गर्नेछन् । बीमा कार्यक्रमबाट यहाँका वासिनदा स्वास्थ्य सुविधा प्राप्त गर्न सक्छन् ।

यहाँको गाउँको वासिन्दालाई सरकारले प्राविधिक तालिम प्रदान दिएको छ । जसले गर्दा उनीहरु त्यही कम्पनी अन्तरगत विभिन्न काम गरेर आयआर्जन गरिरहेका छन् । यहाँको वासिन्दाले मासिक ५ सयदेखि ७ हजार येनसम्म आम्दानी गरिरहेका छन् ।

सरकारले यहाँको जनताको लागि परिवारको संख्याको हिसाबले अवास निर्माण गरिदिएको छ । समाजवादको नमूना गाउँमा भेटिएकी गाओ सुसाङको ५ कोठे घर सरकारले नै बनाइदिएको हो ।

राताेपाटी अनलाइनले तयार पारेकाे रिपाेर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार