चुनावमा नेकपा एमाले र नेकपा माओवादी एक भएर लड्ने भए भनेपछि मानिसहरुमा नयाँ उत्साह आएकै हो । स्थिर सरकार आउँछ, अझ पार्टी एकता भएपछि झन् राम्रो काम गर्छ भन्ने थियो । अहिलेसम्म स्थिर सरकार नभएर विकास नभएको भन्ने आम मानिसमा थियो । यो सरकार अझ दुई तिहाइ बहुमत आएपछि त विकासमा समृद्धिमा कसैले रोक्दैन भन्ने थियो ।

अझ केपी ओलीको विकास सपना थियो । त्यो रेल ल्याउने, पानी जहाज ल्याउने, ठूला ठूला प्राजेक्ट ल्याउने । नाकाबन्दीको समयमा भारतसँग अडान लिएकाले केही न केही काम गर्छन् भन्ने थियो ।
चार पाँच महिनाको सरकारको काम कारबाहि हेर्दा मानिसमा केही फरकपना आएको देखिंदैन । मानिसहरुले साना साना कुरामा यो सरकारले कसरी काम गरिरहेको छ भनेर हेर्छ नै । उपत्यकाको हिसाबमा भन्ने हो भने यहाँको फोहर व्यवस्थापन, बाटोघाटाका समस्या, बाढी पहिरोमा कसरी काम गर्छ सरकार भनेर हेर्छन् । दैनिक जीवनका काम कारवाहीले मानिसलाई बढी प्रभावित बनाएको हुन्छ, बनाउँछ नै । यस्तो काम सरकारले गर्न नसकेको देखियो । विकासका काम कहाँबाट सुरु गर्छ त सरकार भनेर हेरेको थिएँ त्यो पनि केही देखिएको छैन ।
कम्युनिस्ट सरकार तल्लो वर्गको पक्षमा छैन
शिक्षाको कुरा गराैं । शिक्षाको व्यापारीकरण २०४६ भन्दा पहिला पनि थिए । तर यसको विकास त २०४६ पछि बाट बढी भयो ।
जब कि कम्युनिस्टहरू गरिबको पक्षमा काम गर्छ भन्छन् । यो व्यापारीकरणले तल्लो वर्गको हितमा काम गरेको छ त ? गरेको छैन । तल्लो वर्गको पक्षमा भएको पार्टीले त जनताको पक्षमा काम गर्छ । अहिले त जहाँ व्यापारको प्रभाव परेको छैन त्यहाँ जेनतेन सरकारी स्कुल संचालन भएका छन् । जहाँ व्यापारी स्कुल संचालन भएका छन् त्यहाँ सरकारी स्कुलको प्रभाव छैनन् । तर सेवा सुविधा सरकारी स्कुलमा छ । सरकारी स्कुलका शिक्षक भन्दा कम तलबमा अध्यापन गराउँछन् ।
मानिसलाई निजी स्कुलमा पढाउन बाध्य पार्ने नीति सरकारले ल्याएको हो । सरकार नै अंग्रेजीमा पढाउने, पाठ घोकाउने नै राम्रो हो भन्छ । यो भएपछि मानिस पनि त्यहीं पढाउन थाले ।
यो कसरी कम्युनिस्ट सरकार हो ? कम्युनिस्ट सरकार यस्तो हुँदैन । कम्युनिस्ट सरकार छ भूँई मानिसका पक्षमा काम गर्छ । शिक्षा गरीबको पहँुचभन्दा टाढा छ । स्वास्थ्य हेर्नु होस् त सबै स्वास्थ्य निजीको हातमा छोडिदिदै छ । यसले कसको पक्षमा काम गरेको छ सबैलाई थाहाँ छ । तपार्इंको हरेक क्रियाकलाप नीति योजना धनीको पक्षमा लाग्नु भयो भने त्यसले कसरी समृद्धि आउछ ? यहाँ त पैसा हुनेले मात्र बाँच्न पाउने अवस्था आयो । पैसा हुने अस्पताल जान्छ नहुने घरमा मर्छ । यस्तो सरकार कसरी कम्युनिस्ट हुन्छ ?
समानतामा विभेद छ । जति इज्जत सरकार लेखक, बौद्धिक व्यक्तिलाइ दिन्छ । त्यति इज्जत किसानलाई दिनु पर्छ । तर यहाँ यस्तो छैन । त्यसको लागि वातावरण पनि बनाउन चाहिदैन यो सरकार । यदि यस्तो हुने हो भने किसानले पनि आफ्नो काममा बढी मेहनत गर्छ । उसको उत्पादनलाई महत्व दिनुपर्छ ।
यदि सरकार गाउँमा जान्छ भने जनताको पक्षमा योजना बनाउँछ । उसको शिक्षा, स्वास्थ्य रोजगारीको चिन्ता गर्छ नि । सरकार त नवउदारवादीहरुको पक्षमा छ । यो सरकार त आधारभूत रुपमा नै ठीक छैन । जग ठीक भए पो देशको समृद्धिको बाटो सही हुन्छ । जसरी पंचायत विकासमा फेल भयो, बहुदल फेल भयो त्यही अब भयो भने के हुन्छ ?
अब धेरै समस्या आउँछ
पाँच महिनामा काम गर्न नसक्ने देखियो । यो सरकार त परिभाषामा सही छैन, बाटो सही छैन । अबको दुई बर्ष सम्म यो ठूलो मानिसक समस्यामा पर्छ ।
उपनिवेशवादी, नवउदारवादी, उपभोक्तावादी सिद्धान्त बोकेर समाजवादमा पुगिंदैन । यो सरकार कम्युनिस्टको आधारभूत सिद्धान्तमा नै छैन । यो बाटोबाट आफैले भन्ने गरेको समाजवादमा जान सक्दैन । समाजवादमा जान नसकेपछि आममानिसमा निराशा आउँछ । सरकार असफल हुन्छ ।
यो सरकारले कर बढाएको छ । तर यो कर पनि सबै निम्न र मध्यम वर्गलाई बढी मारमा पारेर । इन्टरनेट, टेलिफोनमा, अन्तःशुल्क बढाएको छ । यसरी नयाँ वर्ग जन्माउँदै छ । सामान्य मानिसबाट बढी कर लिएर पूँजीपति पोस्दै छ । ठूला पूँजीपतिलाई कति करको दायरामा ल्यायो ? उल्टै ठूला व्यापारीहरुलाई छुट दिन्छ । जब कि ती ठूला व्यापारीहरुले हामीबाट भ्याट लिएका छन् । हामीबाट कर असुलेका छन् तर त्यो कर सरकारलाई तिर्दैनन् । उल्टै सरकारबाट कर छुट पाउँछन् । यो छुट दिने कसरी कम्युनिस्ट सरकार हुन्छ ?
मोटरसाईकल कसले चढ्छ ? मध्यम वर्गले । यसलाई करमा दबाइएको छ । अब विकासका लागि कर उठाउने होइन । यो सरकार नवउदारवादीको हो ।
कम्युनिस्टले सर्वहाराको पक्षीय राजनीति गर्ने भनेको हो । धनीलाई लगानी गर्न लगाएर गरिबसम्म विकास पुगाउने लक्ष्य हुनुपर्छ । तर यहाँ पहिलो पटक कम्युनिस्ट भनिएकाहरु दुई तिहाइ बहुमत सहित सत्तामा पुगेको छ । यसले त जनताको पक्षमा हो काम गर्नु पर्ने । पहिला पहिला त अझ राजतन्त्र पनि सरकार माथि अंकुश लगाउँथ्यो अब त्यो छैन ।
यो सरकारले दलाल पूँजीपतिको पक्षमा काम गर्दैछ । यसले राष्ट्रिय पुँजीपतिको पक्षमा पनि काम गरेको छैन । यो सरकारले त भारतीय, चिनिया व्यापारीको पक्षमा काम गरेको छ । हामीलाई त उपभोक्ता मात्र बनाउँदै छ । दलालीको पक्षपोषण गरेपछि हामी त उपभोक्तामात्र हौं । यहाँ उत्पादन भएन भने कसरी राष्ट्रिय पूँजीपतिको पक्षमा हुन्छ ।
जनतापाटीका लागि कृष्ण गिरीसँगकाे कुराकानीमा आधारित सम्पादित अंश ।







