सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले नीजि मेडिकल कलेजहरूलार्इ संरक्षण गर्ने नीति लिइरहेकाे बेला साे पार्टी निकट युवा र विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।

उनीहरूले आइतबार विज्ञप्ति जारी गरी उनीहरुले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका हुन् । पूर्व एमाले निकट युवा संगठन- युवा संघ, पूर्व माअाेवादी केन्द्र निकट युवा संगठन- वाइसीएल, पूर्व एमाले निकट विद्यार्थी संगठन- अनेरास्ववियु र पूर्व माअाेवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले यस्ताे माग गरेका हुन् ।

जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ‘शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।’

चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीले नेकपा नेतृत्वको सरकारले निजी मेडिकल कलेजलाई फाइदा हुने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको आरोप लगाएका बेला नेकपाकै विद्यार्थीहरुले भने निजी मेडिकल कलेज राष्ट्रिकरण गर्न माग गरेका हुन् ।

उनीहरुले सबै प्रदेशमा एउटा सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्न, चिकित्सा शिक्षाको छात्रवृत्तिलाई न्युन आय, गरिब, र लक्षित समुदायमा आधारित बनाई पारदर्शी ढंगबाट वितरण गर्न पनि माग गरेका छन् । ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार