लाअाेस डायरी –

लुङ्ग प्रभाङ्गबाट बस चढेर लाओसको राजधानीतर्फ लाग्छु । पहाडी भूभाग हुँदै बस दगुरिरहेको छ । झ्याल बाहिरका दृश्यहरुबाट आँखा हटाउनै मन लाग्दैन । मेकङ्गको जलयात्रामा खेतीपाती गरिएका फाँट, गाउँबस्ती, स्थानीय जनजीवन नजिकबाट नियाल्न पाइएको थिएन । यो बस यात्रामा ती कुराहरु देख्न पाइयो ।

लाओसले युद्धका धेरै पीडाहरु भोगेको छ । संसारमा नै सबैभन्दा बढी बम खसाइएको ठाउँ हो– लाओस । भियतनाम युद्ध उसको सीमा बाहिर लाओसमा पनि फैलिएको थियो ।

फ्रान्सको उपनिवेशबाट सन् १९५४ मा स्वतन्त्र भएपछि लाओसमा संवैधानिक राजतन्त्र स्थापित भयो । तर, पाथेट लाओ भनिने कम्युनिस्ट संगठनले क्रान्ति शुरु गरेपछि देश गृहयुद्धमा फस्यो । भियतनाममा अमेरिकाको हारसँगै सन १९७५ मा लाओसमा पनि कम्युनिस्ट पार्टीले सम्पूर्ण देशको शासन सत्ता हातमा लियो । कम्युनिस्ट शासन लाओसमा आज पनि चलिरहेको छ ।

सन् १९६४ देखि १९७३ सम्म अमेरिकाले लाओसमा कार्पेट ओछ्याएर सरह बम खसालेको थियो । त्यतिखेर खसाएको बम लाओसको खेतबारी, जंगलमा यत्रतत्र छँदैछ । नपडकिएको ८ करोड जीवित बम लाओसको भूमिमा रहेको आँकडा छ । त्यसबाट अहिले पनि मानिसको साथै चौपाया मारिने तथा अङ्गभङ्ग हुने क्रम चलिरहेको छ ।

युद्ध समाप्त भए यता ४० वर्षमा करिब २० हजार निर्दोष लाओ जनताले ज्यान गुमाएका रहेछन् । यो कुरा सम्झिँदा बसको झ्याल बाहिर देखिने सुन्दर दृश्यले पनि मलाई उदाश बनाउँछ ।

हाम्रो बस उकालैउकालो बाटो हुँदै रुखबिरुवा नभएको लेकाली घाँसे फाँटमा पुग्छ । गाउँबस्ती कतै छैन । समुन्द्र सतहबाट यस ठाउँको उचाई कति छ, थाहा भएन । बाइरोडको बाटोमा पर्ने सीमभन्ज्याङ्गमा जस्तै बाक्लो कुहिरो लागेको छ । जाडोले सिउसिउ काम्न थालियो । खाजा खाने पसल, शौचालय भएको ठाउँमा बस रोकियो ।

त्यस बिसौनीबाट हिँडेपछि बस ओरालो लाग्यो । पक्की राम्रो सडक भए पनि ठाडो ओरालो र चिप्लो छ । झ्याल बाहिर डरलाग्दो भीर देखिन्छ । बसका यात्रुहरु डराउँछन् । मेरो सिट नजिक बस्ने गोरा पर्यटक म नेपाली भन्ने थाहा पाएर भन्छ– तिमी त यस्तो सडकमा यात्रा अभ्यस्त छौ होला, होइन ? म टाउको हल्लाउँछु ।

ओरालो बाटो सकिएपछि समथर मैदानी फाँटमा बस कुदिरहेको छ । अघि केहीबेर अघि सिउसिउ कमाउने जाडो, अहिले गर्मीले पसिना आउन थाल्यो । बसको झयाल बाहिर गाउँबस्ती, स–साना बजार देखिन्छ । लञ्चका लागि बस रोकियो ।

नेपालका राजमार्गमा यात्रुलाई खाना खुवाउने ठाउँ भन्दा यता लाओसमा गुणस्तरीय लाग्यो । देशले प्रगति गर्दै जाँदा त्यसको प्रभाव सबैतिर पर्ने रहेछ । प्रधानमन्त्रीले चासो लिँदा पनि नेपालमा राजमार्गका भात पसलहरु सुध्रिएनन् । यस्तै कुरा सोच्दै थिएँ, बस फेरि हिँड्यो ।

राजधानी भियनटेन भन्दा चार घण्टाको बाटो वरै भानभियाङ्गमा अपरान्ह म ओर्लिएँ । पिकनिक, पार्टीका लागि भानभियाङ्ग बिन्दास ठाउँ रहेछ । जहाँ एक रात बिताएर भोलिपल्ट भियनटैन पुगेँ ।

लाअाेस पुगेर नेपाल फर्केका नेपाली मिलन मनुवा दाहालकाे अनलाइनखबरमा प्रकाशित लामाे संस्मरण लेखकाे सानाे अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार