बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन्। कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतुङगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्वय रामशरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन्।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार बिहीबार साँझ पोखरेल र पछाई केटी साथी लिएर कलंकीको आशिर्वाद गेष्ट पुगेका थिए। पोखरेल फुटबल खेलाडी समेत भएकाले आफ्नी केटी साथीलाई लिएर गेष्ट हाउसमा पुगेपछि पछाईलाई पनि बोलाएका हुन्। पछाई सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाका ढोके भएकाले पोखरेलसँग उनी नजिकको साथी बनेका थिए।
नजिकको साथीलाई आफ्नी केटी साथीको परिचय गराउँदै त्यही गेष्ट हाउसमा बसेका दुवै जनाले बलात्कार गरेको आरोप लागेको छ। आफू सुतेको कोठामा आएर पोखरेल र पछाई दुवै जनाले आफूलाई बलात्कार गरेको भन्दै उनले शुक्रबार बिहान कालिमाटी प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कालिमाटी प्रहरी वृत्त स्रोतले जानकारी दिएको छ। पोखरेल र पछाईले ती महिलालाई मोबाइल किन्न भनेर १० हजार समेत दिएका थिए । ‘एउटै गेष्ट हाउसमा बसेको देखियो, पोखरेल र ती युवतीवीच पुरानो प्रेम सम्बन्ध रहेको र बीचमा सम्बन्ध टुटेको र पुनः सम्बन्ध जोडिएको देखिन्छ। बिहीबार उनीहरुले सँगै खाना खाएर बेग्लाबेग्लै कोठमा सुतेको अवस्थामा कोठाको ढोका खोलेर आफूलाई बलात्कार गरेको भन्ने उजुरी आएको छ’, प्रहरी स्रोतले भन्यो।
कालिमाटी प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपकुमार क्षेत्रीले उनीहरुलाई शुक्रबार बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानको लागि समय लिएर महिला सेललाई जिम्मा लगएको बताए। ‘युवती पीडित भएका कारण हामीले महिला सेललाई थप अनुसन्धानका लागि जिम्मा लगाएका छौं,’ डिएसपी क्षेत्रीले भने। महिला सेलले उनीहरुलाई जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगअन्र्तगत अनुसन्धान गरिरहेको जनाएको छ। फौजदारी मुद्दा लागेपछि पोखरेल र पछाई दुवै जना हाल स्वतः निलम्बनमा परेका छन्। नागरिक न्युजमा खबर छ ।
https://www.youtube.com/watch?v=yDLQvRbGN4o







