दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गएपछि सांसदहरुको ध्यानाकर्षण भएको छ । सांसदहरुले दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गएको भन्दै अब कानुन नै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा सांसदहरुले बलात्कारीहरुलाई मृत्युदण्डको सजायको व्यवस्था गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद्हरुले मृत्युदण्ड सजायको कानुन बनाउन माग गरेका हुन् । संसदको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, डिला संग्रौलाले बलात्कारीमाथि कडा कारवाहीको माग गरेका हुन् ।
कांग्रेस नेतृसमेत रहेकी सांसद उमा रेग्मीले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरिन् । उनले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्नेमा जोड दिईन् ।
कञ्चनपुरको भिमदत्तनगर–२ उल्टाखाममा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटनालाई संसदमा उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका छन् । यसै सिलसिलामा निर्मला पन्तको बलात्कार भएको छ । कानुन संशोधन गरेर मृत्युदण्डकोसम्म कारवाही गर्नुपर्छ बलात्कारीलाई ।’
गृहमन्त्रीको जवाफ मागः
निर्मला पन्त हत्याकाण्डका विषयमा सांसद्हरुले गृहमन्त्रीको जवाफसमेत माग गरेका छन् । सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरे ।
ट्यूसन पढ्न गएकी बालिकालाई सामूहिक बलात्कारपछि हत्या गर्दा पनि सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाए । त्यस्तै कांग्रेसकी अर्का सांसद डिला संग्रौलाले हत्यारालाई पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गरिन् ।
निर्मलाले लगाएको सुरुवाल पखालेर प्रमाण मेटाउन खोजियोः
सांसद संगिता गिरीले पन्तको हत्याबारे गृहमन्त्रीको जवाफ माग गरिन् । केही व्यक्ति पक्राउ गरिएको भएपनि सार्वजनिक नगरिएकोमा उनको असन्तुष्ट व्यक्त गरिन् ।
पक्राउ परेका व्यक्तिहरु सार्वजनिक गर्न माग गर्दै उनले भनिन्, ‘उक्त घटनामा संलग्न रहेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् । तर सार्वजनिक किन गरिएन् । बालिकाले लगाएको सुरुवाल पखालेर प्रमाण मेटाउने काम भएको छ । यसबारे गृहमन्त्रीसँग माग गर्दछु, ।’ सांसद लक्ष्मी परियारले हत्यारा खोजीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको भन्दै सरकारको आलोचना गरिन् ।
निर्मलाको लाशमाथि राजनीति गर्न खोजियोः
नेकपाकी सांसद निरुदेवी पालले निर्मलाको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको आरोप लगाईन् । निर्मलाको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको माग गर्दै उनको लाशमाथि राजनीति नगर्न सबैमा आग्रह गरिन् ।







