कञ्चनपुरको भिमदत्तनगर–२ उल्टाखामकी कक्षा नौ अध्ययनरत १३ वर्षीया निर्मला पन्त गत बिहीबार खाना खाएर घरबाट निस्किइन् । उनी आफ्नै कक्षाकी साथीको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन् । उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा साथीको घर छ ।
साथीकोमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किइन । साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म पुगिनन् । साँझसम्म पनि छोरी घर नआएपछि परिवारका सदस्यमा बैचैनी भयो । उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर भयो । निर्मला कहीँ कतै भेटिनन् ।
छोरी नभेटिएपछि बालिका हराएको भन्दै प्रहरीको उजुरी प¥यो । त्यो रात परिवारको लागि सकसमा नै बित्यो । बिहानदेखि नै प्रहरी खोजीमा जुट्यो । बिहानै एउटा दुःखद खबर आयो । निर्मलाको शव घरभन्दा केही पर उखुबारीमा भेटियो । चोट लागेको शरीर अर्धनग्न अवस्थामा थियो । गुप्ताङबाट रगतसमेत बगिरहेको थियो ।
बलात्कारपछि निर्मलाको हत्या गरिएको आशंकापछि स्थानीय दोषी पत्ता लगाएर कारवाही हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिए । परिवारले हत्यारालाई कारवाही नभएसम्म शव नबुझ्ने अडान लिएपछि आन्दोलन झनै चर्कियो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार पीडित पक्ष, जनप्रतिनिधी र प्रहरी प्रशासनबीच तीन बुँदे सहमती भयो । सहमतीपछि पीडित परिवारले दाहसंस्कार गर्न सहमती जनाए ।
तर, स्थानीयले लिखित सहमती गर्दैमा सुरक्षाको ग्यारेन्टी नहुने भन्दै दोषीलाई सार्वजनिक नगरुन्जेलसम्म दाहसंस्कार नगर्न पीडित पक्षलाई दवाव दिए । प्रहरीले घटनाको अनुसन्धान गर्न कुनै कसर बाँकी नराखी सत्यतथ्य रुपमा अनुसन्धान गर्ने र दोषीलाई हदैसम्मको सजाय गर्ने प्रतिबद्धता जनाएपछि मृतकका परिवार र आफन्त निर्मलाको दाहसंस्कार गर्न तयार भए । र, हत्या भएको पाँच दिनपछि सोमबार निर्मलाको दाहसंस्कार गरियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक टेकेन्द्र खड्काको नेतृत्वमा सात सदस्यीय छानबिन समिति बनाएको छ । यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि घटना अनुसन्धानका लागि महेन्द्रनगर पुगेको छ । परिवारका सदस्य, आफन्त र स्थानीयले बलात्कारपछि निर्मलाको हत्या भएको दावी गरिरहँदा प्रहरी भने हत्यारासम्म पुग्न सकेको छैन ।
प्रहरीले शुक्रबार बिहान खोजतलास गर्ने क्रममा एक जना शंकास्पद युवकलाई पक्राउ परेको छ । घटनापछि आक्रोशित स्थानीयले हत्याराको पहिचान र कारवाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् । कञ्चनपुरमा दुईसाता अघि पनि कृष्णपुरमा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको थियो । एकपछि अर्को पासविक घटनाका कारण स्थानीयमा त्रास र आक्रोश बढिरहेको छ ।
किन वलात्कार गर्न अग्रसर हुन्छ मानिस ?
पछिल्लो समय समाजमा बलात्कारका विभत्स घटना घटिरहेका छन् । दिनहुँ रेडियो टीभी तथा पत्रपत्रिकामा बलात्कारका घटनाको खबर सुनिन्छ, देखिन्छ । केही वर्ष यता नाबालिकामाथि सामूहिक बलात्कारका घटनासमेत देखा पर्न थालेका छन् । यो निकै चिन्ताको विषय हो ।
बलात्कारका कतिपय घटना त यति विभत्स हुन्छन् कि सुन्दा पनि आङ जिरिंग हुन्छ, मुटु काप्छ । कञ्चनपुरको यो घटना पनि त्यस्तै प्रकृतिको छ । तर हाम्रो समाजमा बलात्कारका अधिकांश घटना समाजमा बेइज्जती हुने डरले स्वयं पीडित र उनका परिवारले लुकाउने गर्छन् । यो घटना परिघटनाका वीच समाजमा यसले गम्भीर प्रश्नहरु खडा गरेको छ । विशेषगरी समाजमा किन बलात्कारका घटनाले प्रश्रय पाइरहेको छ र मानिस बलात्कार जस्तो जघन्य अपराध गर्न किन अग्रसर हुन्छ भन्ने विषयलाई राम्रोसंग निक्र्यौल गर्न जरुरी छ ।
समाजशास्त्रीय दृष्टिकोणले हेर्दा बलात्कार जघन्य अपराधसँगै अस्वस्थ समाजका कारण समाजले नै ब्यहोरिरहेको दुषित परिणाम हो । महिलालाई हेर्न नकारात्मक दृष्टिकोण, जहाँ महिलालाई जे गर्दा पनि हुन्छ भन्ने मानसिकताले बलात्कारका घटना हुने मानसिक रोग विशेषज्ञको बुझाइ छ ।
हाम्रो जस्तो समाजले यस्ता घटनालाई लुकाउन नै ठीक ठान्छ । यसरी बलात्कारका घटनालाई लुकाउने प्रवृत्तिका कारण बलात्कारीको मनोबल बढ्ने गर्छ । सामान्यतयाः कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन कुण्ठा उत्कर्षमा पुग्छ ।
तर यौन उत्तेजना मेट्ने कुनै उपाय हुँदैन र उ महिलाप्रति जे गरेर हुन्छ बलात्कारको प्रयास गर्छ । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना बढिरहेको हो । मानसिक विचलन, अब्सेसन तथा व्यक्तित्व विकारका कारणले पनि मानिस बलात्कारतर्फ उद्दत हुन्छ । बलात्कार कामुकताका कारणले मात्र नभई सामाजिक र ब्यक्ति स्वयम्को मनोविज्ञानबाट प्रेरित हुने घटना हो । त्यस्ता ब्यक्ति आपराधिक मनोबृत्तिका हुन्छन् र हर घटनालाई सहज रुपमा लिन्छन् ।
पछिल्लो समय ‘पोर्नोग्राफी’का कारण पनि समाजमा यौन दुव्र्यवहारका घटना बढेको छ । ‘पोर्नोग्राफी’ पढ्ने तथा हेर्ने व्यक्तिले यौन उत्तेजना मेट्ने सहज माध्यम पाएन भने सामाजिक मर्यादा र कानुनलाई समेत नजरअन्दाज गरी बलात्कारमा उद्दत हुने गरेको पाइएको छ ।
बलात्कारका घटना बढ्नुमा कानुनी दायरा कमजोर भएको विश्लेषण गरिन्छ । कतिपय देशमा बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ । नेपालमा भने घटनाको प्रकृति हेरेर जेल सजाय दिइन्छ । तर, पछिल्ला क्रुर घटना हेर्ने हो भने बलात्कारका घटना न्यूनीकरण र अन्त्यका लागि जेल सजाय मात्रै काफी छैन भन्ने प्रष्ट हुँदै गएको छ । तर, ब्यक्ति र समाजको मनोविज्ञान बुझ्न र परिवर्तन गर्न नसक्दासम्म नियन्त्रणका प्रयास भने सार्थक हुने छैन ।
सुक्ष्म रूपमा केलाउँदा बलात्कार समाज, संरचना र संस्कृतिसँग गहिरासँग जोडिएको पाइन्छ । बलात्कारी मनोभाव दह्रो हुनुमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समाजले पीडितलाई नै दोष दिने प्रवृत्ति पनि अर्को मुख्य कारण हो ।
त्यसैले बलात्कारको न्युनिकरणका लागि यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, समाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपुर्ण हुन्छ । किशोरकिशोरीहरुको उमेर अनुसार आवश्यक यौनशिक्षा र जीवनोपयोगी सीप परिवार र विद्यालयबाट उपलब्ध गराउनु पर्दछ।
परिवारमा बालबालिकाहरुले अभिभावकसँग मनमा लागेका कुराहरु गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ । सामाजिक मनोभावनालाई परिवर्तन गर्नु जरुरी छ ।







