भक्तपुर । निर्माण व्यवसायीको ६ लाख रुपैँया लुटपाट भएको छ । भक्तपुरमा दिउसो नै निर्माण व्यवसायीलार्इ चक्कु देखाएर मोटरसाइकलमा अाएका दुर्इ जनाले लुटिएको हो ।
परशुराम बजगाई चाँगुनारायण नगरपालिका ६ फेदीका निर्माण व्यवसायी हुन् । बजगाई आज मंगलबार दिउँसो नेपाल बैंक कमलविनायक शाखाबाट झिकेको २ लाख र घरबाट ल्याएको ४ लाख सहित ६ लाख पैसा लिएर अाउदै गर्दा माक्स लगाएर मोटरसाइकलमा आएका दुर्इ जनाले चक्कु देखाएर लुटेको उनले बताए ।
लुटेराहरुको खोजीकार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरीले जनाए
यो पनि पढ्नुहोस :
मुलुकभर जघन्य अपराधका घटनामा वृद्धि, जघन्य अपराध मुद्दा सबैभन्दा धेरै प्रदेश ३ मा
काठमाडौँ । मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३\७४ को तुलनामा आव २०७४\७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो ।
आव २०७४\७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३\७४ मा पाँच हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२\७३ मा चार हजार ९४५ मुद्दा दर्ता भएका थिए ।
आव २०७४/७५ मा खुनडाँका दुई, कर्तव्य ज्यान ६२८, ज्यान मार्ने उद्योग ७२८, डाँका चोरी २७, लागूऔषध तीन हजार ८८, व्यक्ति अपहरण ७७, हातहतियार खरखजना २५४, मानव बेचबिखन तथा ओसारपसार ३०८, जबर्जस्ती करणी एक हजार ४८०, विस्फोटक पदार्थ ५४ मुद्दा दर्ता भएका छन् ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री जनसंख्याको वृद्धि र प्रहरीको सक्रियतासँगै जघन्य अपराधका घटनामा वृद्धि भएको बताउनुहुन्छ । “प्रहरीले हरेक निवेदनको गम्भीरताका साथ अध्ययन अनुसन्धान गरेको छ, त्यस कारण पनि जघन्य अपराधका घटना बढेको हो,”– उहाँ भन्नुहुन्छ । जघन्य अपराध भनेको माफ नहुने अपराध हुन् । जुन अपराध गम्भीर प्रकृतिका हुन्छन् ।
प्रदेश नं ३ मा जघन्य अपराध मुद्दा धेरै
मुलुकको राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा जघन्य अपराधको घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्र्यालयका अनुसार प्रदेश नं ३ मा मात्र विभिन्न अपराधमा एक हजार ६४९ मुद्दा दर्ता भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९२१, केन्द्रीय अनुसन्धान ब्यूरो र लागूऔषध नियन्त्रण ब्यूरोमा ४५ तथा प्रदेश नं ३ का अरु जिल्लामा ६८३ मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी ७८६ मुद्दा रहेका छन् ।
यसैगरी प्रदेश १ मा एक हजार ५२३, प्रदेश २ मा एक हजार ६१, प्रदेश ४ मा ५४२, प्रदेश ५ मा एक हजार २८८, प्रदेश ६ मा २०७ र प्रदेश ७ मा ३७६ मुद्दा दर्ता भएका छन् ।
news२4nepal







