ओलीले नेपालीहरुले तोपसँग खुकुरीले लडेर बचाएका देशलाई जोगाउनुपर्ने बताएका छन् । “तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक जोगाउनुपर्छ” प्रधानमन्त्री ओलीले भने, “सार्वभौमसत्तालाई कायम राख्दै सन्तुलित छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।”
सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डिकेट अन्त्यका लागि प्रतिवद्ध भएको प्रधानमन्त्रीको भनाइ छ । आगामी दुईवर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बनाइने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले कांग्रेसको आकार घट्दै-घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् ।
तत्कालीन एमाले र माओवादीका मजदूर संगठन जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसको आकार घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने बताए ।
“माइतीघरमा दुई सय जना जति मान्छे अट्लान्” प्रधानमन्त्री ओलीले भने, “त्यत्ति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।”माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“मण्डलामा आन्दोलन भएपछि त्यसको हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न” प्रधानमन्त्रीले भने, “यहींबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा उतिकै छ ।”
लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “आजसम्म आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ” प्रधानमन्त्री ओलीले भने, “त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ ।” shikharnews बाट







