काठमाडौं । विदेशमा भएको छोरीको रहस्यमय मृत्युको विषयमा केस गरिदिन्छु भन्दै शुसिल कोइराला प्रधानमन्त्री भएका वेला उनकै सचिवालयमा बसेका कर्मचारी र प्रहरी अधिकारीले पीडित परिवारसँग लाखौं लिएको खेलेको छ ।
यसरी सुरु हुन्छ कथा
२०७१ साल मंसिर ८ गते फिनल्याण्डमा छोरीको रहस्यमय मृत्यु भएपछि नया गाउँ पोखराका निर्मल बहादुर नेपाली र उनकी श्रीमती नन्दकला न्यायका लागि धाउन थाले । उनीहरुका छोरी २२ वर्षीय सुनिता नेपालीको मृत्यु हुनु भन्दा एक वर्ष अघि फिनल्याण्ड बस्ने पोखराकै सुरज नेपालीसँग बिहे भएको थियो ।
बिहेपछि फिनल्याण्ड गएकी सुनिताको ६ महिनापछि रहस्यमय मृत्यु भयो । छोरीको शंकास्पद मृत्यु भएको थाहा पाए पनि केही गर्न नसकेको भन्दै सुनिताकी आमा बुबा हाम्रो कार्यलयमा आएर रोए ।
उनीहरु भन्छन्, ‘छोरीको रहस्यमय मृत्युको छानविन भए मात्र पनि निदाउन सक्छौं ।’ यातना दिएर छोरीलाई मारेको भन्दै भौतारिरहेको छ यो परिवार । छोरीको मृतात्माको शान्तीको लागि पनि न्याय आवश्यक भएको उनीहरुको भनाई छ । अन्तिम पटक कुरा गर्दा आफ्नो छोरीले घरमा झगडा भएको र मानसिक यातना दिइएको परिवारलाई गुनासो गरेकी थिइन् ।
दाइजोको निहुँमा निर्दोस चेलिले विदेशी भुमिमा अनाहकमा ज्यान गुमाएको भन्दै सुनिताको आमा बुबा दोषीलाई कानुनी कठघरामा उभ्याउन २ सय पटक पोखराबाट काठमाडौं आइन् । उनीहरुले आफुले चिनेको कपिलवस्तुका इन्सपेक्टर राजेन्द्र प्रसाद उपाध्यायलाई छोरीको हत्याबारे छानविनको लागि सहयोग गर्न आग्रह गरे ।
सो इन्स्पेक्टर उपाध्याय हाल क्षेत्रिय प्रहरी कार्यलय दिपायलमा कार्यरत छन् । उपाध्यायले सो घटनाको छानविन गर्नको लागि ४ लाख रुपैया लिए । उनलाई चार लाख रुपैया दिनका लागि उनीहरुले आफुसँग भएको गरगहना बन्दकी राखे । तर पछि सुन राखेर दिएको पैसा फिर्ता गर्नुपर्छ भनेपछि उपाध्यायले २ लाख फिर्ता गरे । हामीले यो सबै कुरा थाहा पाएपछि सुनिताका बुबा इन्स्पेक्टर उपाध्यासँग कुरा गर्न लगायौं । यस पटक उनले पैसा फिर्ता नगर्ने भन्दै उल्टै मुद्धा गर्न चुनौती दिए ।
यति मात्र होइन, शुसिल कोइराला प्रधानमन्त्री हुँदा उनको सचिवालय कार्यलय बालुवाटारमा कार्यरत कर्मचारी धनबहादुर केसीलाई इन्स्पेक्टर उपाध्यायले पीडित परिवारसँग भेटाए । पोखरा लेक साइडमा भएको सो भेटमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारी केसीले १२ लाखको डिमाण्ड गरे ।
छोरीको हत्याको विषयमा छानविन गर्न फिनल्याण्ड जानुपर्ने भन्दै पटक पटक गरेर उनले पीडित परिवारसँग १२ लाख २५ हजार लिए । पीडित परिवारले हामीलाई यो सबै जानकारी गराएपछि हामीले हाल बुटवलस्थीत जनक शिक्षा सामग्री केन्द्र शाखा कार्यलयमा कार्यरत कर्मचारी केसीलाई सम्पर्क गरेर पीडित परिवारसँग पैसा लिएको भनि प्रश्न ग¥यौं ।
उनले परिवारलाई सहयोग गर्न पैसा लिएको भनद्यै त्यो पैसा आजै फिर्ता गरिदिने भने । उनले पटक पटक पीडितलाई फोन गरेर किन न्युज २४ मा गएको, आफुले पैसा फिर्ता गरिदिने बताए ।
केसीले तीस पटक भन्दा बढी सुनिताका बुबालाई फिनल्याण्ड जानुपर्ने भन्दै काठमाडौं बोलाए । तर सँधै खाली हात फर्काए । सुनिताको मृत्युको भएको आज करिब चार वर्ष हुन लाग्यो । चार वर्षसम्म केसी र सो इन्स्पेक्टर उपाध्यायले काम हुँदैछ भन्दै टारिरहेका छन् ।news24nepal








