काठमाडौँ । अफ्रिकी महाद्वीप तटको दक्षिण–पश्चिममा करिब ९ सय किलोमिटरको दूरीमा हिन्द महासागरमा एउटा सानो टापु छ । २ हजार ४० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एउटा सानो टापु, जहाँको प्रतिव्यक्ति आय भने आकर्षक छ । वार्षिक करिब २० हजार अमेरिकन डलर प्रतिव्यक्ति आय भएको देश नराम्रो होला त भनेर कसले पो सोच्ला र !
तर मरिससको यथार्थ भने अलिक फरक छ । सानो देश र करिब १३ लाख मात्रै जनसङ्ख्या भएकाले यहाँको प्रतिव्यक्ति आय राम्रो देखिए पनि यहाँ बस्न भने ज्यादै कठिन छ । मुख्यतः पर्यटनलाई आफ्नो पेसा बनाएको मरिसस उत्पादनभन्दा पनि बढी सर्भिसबाट लाभ लिइरहेको छ ।
पछिल्ला दिनमा मरिसस आकर्षक गन्तव्य भन्दै काठमाडौँलगायत देशका मुख्य सहरहरूबाट अध्ययनका लागि भन्दै यो टापुमा पठाउने कन्सल्टेन्सी र विद्यार्थीको सङ्ख्या बढिरहेको छ । मुख्यतः मरिससमा होटल म्यानेज्मेन्टलगायतका विषय अध्ययन गर्न भन्दै विभिन्न कन्सल्टेन्सीले प्रतिव्यक्ति करिब ८ लाख रुपियाँ लिएर पठाउने गरेका छन् । मरिससमा यूकेको डिग्री प्राप्त हुने र आकर्षक कमाइ हुने भन्दै कन्सल्टेन्सीले मरिससमा विद्यार्थी पठाइरहेका छन् ।
तर मरिससको यथार्थ भने त्योभन्दा फरक छ । मरिससमा अध्ययनसँगै काम गर्ने भनेर मरिसस पुगेका विद्यार्थी भने आफूलाई नर्कमा ल्याइएको भन्दै उद्धार गरिदिन पहल गरिरहेका छन् ।

बाग्लुङका विष्णु सुवेदी (नाम परिवर्तन) काठमाडौँस्थित एक कन्सल्टेन्सीबाट अध्ययन र रोजगारीका लागि भन्दै मरिसस पुगे । सन् २०१७ को सेप्टेम्बर सेसनमा अध्ययनका लागि भन्दै मरिसस पुगेका उनी त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जतिबेला मरिससको वास्तविकता र कन्सल्टेन्सीको ‘ललिपप’बीचमा व्यापक अन्तर देखे ।

मरिसस सम्पन्न देश भएको र त्यहाँको प्रतिव्यक्ति आय राम्रो भएकाले युरोपका अन्य देशहरूभन्दा राम्रो देश भनिएको थियो । अमेरिकापछिकै राम्रो देश भन्दै उनलाई बागबजारस्थित एक कन्सल्टेन्सीले ८ लाख रुपियाँ लिएर मरिसस पठाएको थियो । त्यो ८ लाखमध्ये १ वर्षको अध्ययनको शुल्क र ३ महिनाको होस्टल शुल्क समावेश थियो ।

मरिससमा पुगेपछि काम पनि पाइने र अध्ययन पनि गर्न पाइने भन्दै विष्णुलाई मरिसस पुर्याइएको थियो । कक्षा ११ अध्ययन गर्दागर्दा होटल म्यानेज्मेन्ट पढ्न मरिसस पुगेका उनी त्यतिबेला जीवन र मरणको अवस्थामा पुगे जतिबेला होस्टलबाट उनलाई निकालियो । निम्न मध्यम परिवारका विष्णुलाई परिवारले ऋण खोजेर मरिसस पठाएका थिए । मरिसस राम्रो देश भएको भन्दै अध्ययन सकेर नेपाल फर्कंदा ८, १० लाख पैसा पनि कमाएर ल्याउने सपना विष्णु र उनका परिवारलाई कन्सल्टेन्सीले देखाएका थिए । तर पैसा कमाउनु त कता हो कता मरिससमा खान र बस्न नै नपाउने स्थिति भएपछि एक पटक त विष्णुले आत्महत्याको प्रयास पनि गरे ।
होस्टलमा पैसा तिरेको समय अर्थात् मरिसस गएको ३ महिनापछि मासिक २० हजार नेपाली रुपियाँका दरले ६ महिनाको एकमुष्ठ पैसा बुझाउन भनियो । तर विष्णुले न परिवारबाट थप पैसा मगाउन सक्थे न त होस्टल छाड्न नै सक्थे । जेनतेन थप एक महिना होस्टलमा बसे पनि त्यसपछि भने उनलाई होस्टलबाट निकालियो र उनी त्यहाँकै एउटा पाटीमा बस्न पुगे । पाटीमा बस्दै उनले निरन्तर काम खोजिरहे तर बाँच्न सक्ने हैसियतको काम नै पाएनन् । अन्ततः मासिक ८ हजार मरिसियन रूपी पाउने गरी मरिससको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाए । मरिससको १ रुपियाँ बराबर नेपाली करिब ३ रुपियाँ ३० पैसा जति हुन्छ । त्यो भनेको मासिक करिब २६ हजार नेपाली रुपियाँ थियो । दिउँसोको खाजा र साँझको खाना रेस्टुरेन्टमै पाउने भएपछि उनले त्यही काम गर्न थाले । अर्को एकजना नेपाली साथीसँग मिलेर कोठा पनि भाडामा लिए र बस्न थालेँ ।

सोमबार साँझ रातोपाटीसँगको कुराकानीमा भावुक बनेका विष्णुले भने– ‘के गर्नु घरमा त्यस्तो कुरा भन्न सक्ने अवस्थामा म थिइनँ । किनभने म यता आउँदा नै सबै रकम ऋण खोजेर ल्याइएको थियो । बरु एक पटक आत्महत्या गर्ने प्रयाससमेत गरेँ । तर बाँच्न जति गाह्रो छ, मर्न त त्योभन्दा पनि गाह्रो रहेछ । अनि आत्महत्या गर्न सकिन र सङ्घर्ष गर्ने निर्णय गरेँ ।’
विष्णुको यो पीडा उनको परिवारलाई अझै थाहा छैन र विष्णुले भनेका पनि छैनन् । परिवारले देश र पढाइ कस्तो छ भनेर बेलाबेलामा सोध्दा उनी बाध्य भएर राम्रो छ भन्न बाध्य छन् । तर मरिससको यथार्थ भने विल्कुल फरक छ ।

विष्णु त जागिर पाएका एकजना नेपाली विद्यार्थी भए । मरिससमा काम र माम नपाएर विचल्लीमा परेका धेरै नेपाली विद्यार्थीहरू छन् । परिवार सम्पन्न हुनेहरूले त घरबाट पैसा पठाएर अध्ययन पूरा गर्दै छन् । तर विष्णुजस्तै निम्न मध्यम र निम्नस्तरका विद्यार्थीका हालत के होला ?
न त त्यहाँ अलिक मध्यम स्तरको काम पाउन सकिन्छ न त काम पाए पनि राम्रो तलब सुविधा नै छ । मरिससमा निम्न स्तरको जीवनयापन गर्न पनि मासिक २५ हजार लाग्छ । त्यो पनि ग्रुपमा कोठा लिएर बसेमा मात्रै । नत्र एक्लै कोठा खोजेर बस्ने हो भने त्यहाँ मासिक खर्च करिब करिब ३५ हजार पुग्छ । तर बिहान कलेज र दिउँसोदेखि करिब ८, १० घण्टा काम गर्दा पनि मासिक २६ हजार मात्रै हुनेभएपछि उनलाई खर्च धान्न पनि धौ–धौ छ ।

बेला–बेलामा घरबाट ब्याज तिर्नका लागि पैसा पठाइदिन भन्दै फोन आउँछ, त्यतिबेला विष्णुलाई थप पीडा हुन्छ । किनभने केही कमाएको पैसाले बाँकी २ वर्षको कलेजफी तिर्नै छ । कलेजको शुल्क नै मासिक करिब ३० हजार नेपाली रुपियाँ लाग्छ । त्यो पैसा कसरी उनले घर पठाउन् ।
विष्णु त जागिर पाएका एकजना नेपाली विद्यार्थी भए । मरिससमा काम र माम नपाएर विचल्लीमा परेका धेरै नेपाली विद्यार्थीहरू छन् । परिवार सम्पन्न हुनेहरूले त घरबाट पैसा पठाएर अध्ययन पूरा गर्दै छन् । तर विष्णुजस्तै निम्न मध्यम र निम्नस्तरका विद्यार्थीका हालत के होला ?
आर्थिक वर्ष २०७४/७५ अर्थात् २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालबाट ३ सय ६४ जना नेपाली विद्यार्थीहरू मरिससमा अध्ययनका लागि पुगेका छन् । उनीहरूलाई त्यहाँ उच्च स्तरीय शिक्षा र आकर्षक कमाइको लोभ देखाइन्छ । तर मरिससमा पहिलो कुरा राम्रो काम पाउन नै असम्भवजस्तै छ भने काम पाइहाले पनि विद्यार्थीले काम पाउने भनेको दैनिक ४ घण्टा मात्रै हो । केही भारतीय मूलका मानिसहरूको रेस्टुरेन्टमा अवैधानिक रूपमा बढी समय काम दिए पनि त्यहाँ पूरा तलब दिइँदैन । जसका कारण मरिससमा बसेर पढ्न अत्यन्तै कठिन छ ।

युरोप भन्दै मरिसस पठाउँदै

बागबजार, पुतलीसडक र डिल्लीबजार क्षेत्रका अधिकांश कन्सल्टेन्सीले मरिससलाई युरोप भन्दै झुट बोलेर पठाउने गरेका छन् । कुनै विद्यार्थी वा तिनका अभिभावकले युरोप होइन भनेमा मात्रै उनीहरूले मरिससबाट युरोप जान सजिलो हुने युरोप जस्तै देश भन्छन् ।
ratopati

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार