काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले कन्चनपुरमा निर्मला पन्तको बलात्कार गरी हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समय र विशेष समयमा बोल्ने अधिकांश सांससले कन्चनपुर घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका थिए। महिला हिंसामा शून्य सहनशीलताको कुरा गर्ने, घटनाको तत्काल सम्बोधन गरी सरकारको उपस्थिति जनाउने बताउँदै आएको सरकारले घटनाको ४ दिनसम्मपनि दोषीलाई नियन्त्रणमा लिन नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए। शून्य र विशेष समय नै

कंचनपुरमय भएपछि सभामुखले सो घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन्। सभामुख महराले सभामुख र उपसभामुखको विषयमा अदालतमा मुद्दा परिसकेको सदनमा जानकारी गराउन नसक्ने भन्दै सांसदहरुलाई सचेत गराए।

उनले भने, ‘सभामुख र उपसभामुखको विषयमा सम्मानित अदालतको विचाराधिन रहेको नेपालको संविधानको धारा १ सय ५ मा व्यवस्था भए अनुसार नेपालको कुनै अदालतमा विचाराधिन मुद्दाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पर्ने भएका कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने व्यहोरा जानकारी गराउछु।’

बैठकमा कंचनपुरमा भएको महिला हिंसामा संलग्न दोषिलाई पत्ता लगाई कारवाही गर्नुको सट्टा न्याय खोज्ने महिलामाथि प्रहरी दमन भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो। प्रतिपक्षी दलका सांसदहरुले महिला हिंसाका घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिएर कारावाही गर्नुको सट्टा न्याय खोज्ने जनतामाथि प्रहरी धरपकड भएको भन्दै सरकारको आलोचना गरेका हुन्।

सांसद उमा रेग्मीले कंचनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारको घटनामा सरकारले दोषिलाई कारवाही गर्नुको सट्टा जनतामाथि धरपकड गरेको भन्दै आपत्ति जनाइन्। बलात्कारीलाई कारवाही गर्नुको सट्टा सरकारले जनतामाथि लाठी बर्षाएको दाबी गरिन्।

शून्य समयमा बोल्ने सत्तारुढ दलका सांसदले सो घटनालाई लिएर केही दलले लाशको राजनीति गरेको भन्ने अभिव्यक्ति प्रति लक्षित गर्दै उनले भनिन्, ‘लासको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस होइन। त्यँहाका जनता होइनन्।’

उनले सुन तस्करी र कारवाहीको प्रक्रियाबारे सदनलाई जानकारी दिन पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालको हाता भित्रको जग्गा भरतपुर महानगरलाई दिने निर्णय भएको भन्दै त्यसको विरोध गरिन्। क्यान्सर अस्पताललाई नै जग्गा नपुगिरहेका बेला अस्पताल हाता भित्रको जग्गा पुर्वाग्रह पुर्वक अरुलाई दिने काम गरिए राष्ट्रिय सवालको रुपमा सो विषय संसदमा उठाइने चेतावनी दिइन्।

उनले भनिन्, ‘विपी कोइरालाको नाममा हस्पिटल भएर त्यसलाई आग्रह पूर्वाग्रह किसिमले यदि त्यो माथि प्रहार गरिन्छ। त्यँहाको एक चिम्टी पनि जग्गा अन्त दिइन्छ भने यो हामीलाई सैह्य हुने छैन। र, यो हाउसमा हामी जोडदार रुपमा राष्ट्रिय सवालको रुपमा उठाउनेछौं।’
सांसद भरत शाहले लाशको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस नभएको भन्दै घटनामा संलग्न दोषी पक्राउ गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद रंगमती शाहीले मुलुकभरका हरेक घटनाको तत्काल सम्बोधन गर्ने बताएकोे सरकारले ४ दिन बितिसक्दा पनि बलात्कार र हत्यामा संलग्न दोषी पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले न्याय माग्ने महिलामाथि प्रहरीले धरपकड गरेको दाबी गरे।

सांसद अग्निप्रसाद सापकोटाले सिन्ुधलाल्चोक जिल्लाको कोदारीको थानी गाउँ माथिको चट्टान खस्न लागेको त्यसले ठूलो बस्ती जोखिममा परेको भन्दै सो चट्टानको व्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए।

सासद प्रेम सुवालले वित्तिय संस्थाहरुले भूकम्प प्रभावितलाई दिइएको पुर्नकर्जाको व्याज बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराए। २ प्रतिशतले दिइएको पुर्नकर्जाको व्याज हाल १३ र १५ प्रतिशत पुर्याइएको भन्दै उनले १० बर्षका लागि २ प्रतिशतको व्याजलाई कायमै राख्न सरकारसँग माग गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार