प्रतिनिधिसभा सदस्य निरूदेवी पाललाई ज्यान मार्ने धम्की दिइएकाे छ।पाललार्इ संसदीय सुनुवाई विशेष समितिको बैठकमा गए ज्यान मारिदिने भन्दै अज्ञात ब्यक्तिले धम्की दिएका हुन्।

मंगलबार साँझ बानेश्वरमा एक ब्यक्तिले पेस्तोत ताकेर धम्की दिएको र साथमा रहेको मोबाइल समेत खोसेर लगेको सांसद पालले बताइन्।
संसदीय सुनुवाइ समितिकी सदस्य रहेकी नेकपाकी सांसद पाललाई ति ब्यक्तिले आज समितिको बैठकमा सहभागी भए मारिदिने धम्की दिएका थिए।
घटनापछि सांसद पालले समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णलाई घटनाबारे जानकारी गराएकी थिइन्। गृहमन्त्रीले घटनाबारे थाह पाएपछि राति नै सांसद पालको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका थिए।
‘राति साढे आठ बजेतिर म पसलमा दूध लिन जाँदा एक जनाले ममाथि पेस्तोल ताक्यो र भन्यो, भोलिको बैठकमा गइस् भने तेरो बाउले पनि बचाउन सक्दैन,’ बुधबारको समिति बैठकमा आफूमाथि आएको धम्कीबारे सांसद पालले भनिन्, ‘उसले मेरो मोबाइल पनि लुटेर लगेर गयो।’
पालमाथि भएको घटनापछि प्रहरीले बुधबार समितिका ६ जनालाई हतियारसहित एक/एक जना सई पिएसओ खठाएको छ। समितिमा रहेका कांग्रेस सांसदहरूले भने सुरक्षागार्ड नलिने बताएका थिए।
गत बिहीबार समितिले प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश दिपकराज जोशीको सुनुवाइ गरेको थियो। तर उनको अनुमोदन गर्नेरनगर्नेबारे भने समितिले निर्णय गर्न सकेको छैन। समितिको अर्को बैठक शुक्रबारका लागि डाकिएको छ।
सदस्यहरुको सुरक्षामा ध्यान दिन समितिको माग
यसैबीच संसदीय सुनुवाई विशेष समितिले समितिका सदस्यहरुको सुरक्षाको उचित व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेको छ।
समितिको बुधबार बसेको बैठकले समितिकी सदस्य निरुदेवी पालमाथि मंगलबार साँझ अज्ञात व्यक्तिले धम्कीसहित हातमा रहेको मोबाईल खोसेर लगेको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल सुरक्षाको उचित व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गर्ने निर्णय गरेको हो। समितिको बैठकले घटनाको निन्दा गर्दै समितिका सदस्यहरुको आवश्यक सुरक्षाको व्यवस्था गर्न संघीय संसद सचिवालयको ध्यानाकर्षण गराएको हो।
बैठकमा समितिकी सदस्य पालले घटनाबारे विस्तृत जानकारी गराएकी थिइन्। उनले बुधबार सभामुख कृष्णबहादुर महरासँग भेट गरी घटनाबारे जानकारी गराउँदै आफ्नो सुरक्षाको व्यवस्था गर्न माग गरेकी थिइन्।







