सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् । छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे प्रतिवेदन तयार पारेको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन बुधबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा प्रधानमन्त्री ओलीलाई बुझाएको हो । प्रतिवेदन बुझाउन बुधबार साँझ समिति सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको सो प्रतिवेदन ७५२ पृष्ठको छ । समितिले सुझाव, घटना विवरण, तथ्य र सम्भावनासहितका विषय समेटेर चार महिनासम्म गरेको अनुसन्धानलाई समेटेको छ ।

गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि विसं २०७४ चैत २० गते मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको थियो ।

जेठ ३० गतेसम्म अनुसन्धान सक्ने गरी गठित टोलीले अनुसन्धान समयमा नसकेपछि सरकारले असार ३२ गतेसम्म म्याद थपेको थियो ।

सुन तस्करी र सनम हत्यापछि ७५ जनाविरुद्ध अभियोजन मुद्दा दायर भएको छ भने ४५ जना पक्राउ परिसकेका छन् ।

समितिले अनुसन्धानका क्रममा सुन तस्करीका मुख्य अभियुक्त चुरामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङदेललगायतलाई पक्राउ गरेको थियो ।

दैनिक नेपाल बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार