बहुचर्चित सुन काण्डमा ‘ठूला माछा’ नजिक पुगेको भनेर गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले पटक–पटक अभिव्यक्ति दिएपनि सरकारले ठूला माछा पक्राउ गर्न नसक्ने देखिएको छ ।
ठूला माछालाई पक्राउ नै नगरी छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको सो प्रतिवेदन ७ सय ५२ पृष्ठको छ । समितिले सुझाव, घटना विवरण, तथ्य र सम्भावनासहितका विषय समेटेर ४ महिनासम्म गरेको अनुसन्धानलाई समेटेको छ ।
गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि विक्रम सम्वत् २०७४ चैत २० गते मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको थियो ।
जेठ ३० गतेसम्म अनुसन्धान सक्ने गरी गठित टोलीले अनुसन्धान समयमा नसकेपछि सरकारले असार ३२ गतेसम्म म्याद थपेको थियो । समितिले अनुसन्धानका क्रममा सुन तस्करीका मुख्य अभियुक्त चुरामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङदेल लगायतलाई पक्राउ गरेको थियो ।
प्रहरीबाट पूर्वप्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्याम खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल लगायतलाई पक्राउ गरेको थियो ।
सुन तस्करी र सनम हत्यापछि ७५ जनाविरुद्ध अभियोजन मुद्दा दायर भएको छ भने ४५ जना पक्राउ परिसकेका छन् । सुन तस्करी र हत्याकाण्डमा राजनीतिक सम्बन्ध भएका व्यक्तिको समेत संलग्नता रहेको चर्चा चलेको थियो ।
ओलीले बुझेको प्रतिवेदनलाई कार्यान्वयन गर्ने, थप छानविन गर्न निर्देशन दिने र ठूला माछासम्म पुग्ने निर्णय लिन सक्छन् । तर, ओली सरकारले राजनीतिक सम्बन्ध भएका भनिएका ठूला माछालाई उन्मुक्ति दिने वा पक्राउ गर्न हिम्मत नगर्ने हो भने ठूला माछाले छुट पाउने छन् ।
mediadabali







