पर्यटकीय नगरी पोखरामा मिटर व्याजमा पैसा लगाउने र ऋण लिनेको समूह सक्रिय रहेको पाइएको छ । सभागृह नजिकै इभा ट्रेडर्स संचालन गरिरहेका फणिन्द्र ढुंगानाले मिटर व्याजका कारण बाँच्न नसक्ने भन्दै सुसाइड नोट लेखेर बेपत्ता भएपछि यस्तो रहस्य खुलेको हो ।
पोखरा लेखनाथ महानगरपालिकामा मिटर व्याज पाउने आशामा सयौं मानिसहरुको ठूलो रकम डुवेको छ । पोखरा सभागृह गेट नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगानाले केहि दिन अघि मिटर व्याजी साहुका कारण जीवन असहज भएको भन्दै सुसाइड नोट छाडेर बेपत्ता भएपछि उक्त रहस्य बाहिर आएको हो । कास्कीको धिताल घर भएका ३५ वर्षीय ढुंगानाले घरबाट लिएर गएको स्कुटर एसओइस स्कुल अगाडि भेटिएको छ ।

बेपत्ता ढुंगानाले मीटर ब्याज लगाउने मान्छेको नाम नै किटान गरेर सुसाइड नोट लेखेका छन् । उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे लगायतले सय कडा ५०, ६० र ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएको उल्लेख गरेका छन् ।
पोखरामा अहिले मीटर ब्याज लिने र दिनेको ठूलो गिरोह सक्रिय रहेको छ । ब्यवसायिक प्रयोजनका लागि महंगो ब्याज दरमा बिना धितो वा धितो राखेर सामान्य तमसुक तथा चेकको भरमा ऋण लिने र दिंने कार्य भइरहेको बताइन्छ । तर जिल्ला प्रहरी कार्यालय कास्कीमा मीटर ब्याजसंग सम्बन्धी कुनै पनि उजुरी नपरेको प्रखरीको जिकिर छ ।
मीटर ब्याजका कुनै पनि उजुरी कास्की प्रहरीमा नआउने तर दिनानुदिन मीटर ब्याज कै कारण मृत्यु हुनेको संख्या बढ्नुले यो संजालमा पहुँचवाला व्यक्तिहरु नै सक्रिय रहेको प्रष्ट देखिएको छ । यस्तो गम्भीररुपमा अनुसन्धान नगरिए समाजमा भयका थप तस्बीरहरु कोरिन सक्ने भन्दै पोखरावासीले चिन्ता जाहेर गरेका छन् ।








