कान्तिपुर राष्ट्रिय दैनिकका पूर्व सहायक वरिष्ठ उपसम्पादक तथा नेपाल पत्रकार महासंघ, नेपाल रिपब्लिक मिडियाका पूर्व सदस्य यादव थपलियाको चिकित्सकहरुको हेलचेक्र्यार्इँले मृत्यु भएको भन्दै उजुरी परेको छ ।
चिकित्सकहरुको लापरबाहीले थपलियाको मृत्यु भएको भन्दै उनकी श्रीमति गंगा खतिवडाले छानविनको मागसहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएकी हुन् ।
आफ्नो श्रीमान उपचारको क्रममा अस्पतालले एकपछिको अर्को रोगहरु बताउँदै गएपनि के रोगका कारण निधनको हो स्पष्ट पार्न नसकेको जनाउँदै उनले बुधबार निवेदन दिएको बताइन् ।
‘सामान्य अवस्थामा अस्पताल भर्ना गरेको बिरामीको ४८ घन्टा बित्न नपाउँदै निधन हुनुअनि डाक्टरले एकपछि अर्को रोग बताउँदै जाँदा उपचारमा हेलचक्रयाइँ भएको हामीलाई त्यतिबेलै लागेको थियो,’ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजलाई विपक्षी बनाउँदै खतिवडाले दिएको निवेदनमा भनिएको छ, ‘चिकित्सकहरूले बिरामीको निधनमा हामीलाई जे कारण (भाइरल इन्फ्लुएन्जा) भन्नुभएको थियो, परीक्षणका क्रममा त्यो असत्य साबित भएको छ, भाइरल इन्फ्लुएन्जा नेगेटिभ देखिएको छ ।’

उपचारमा संलग्न चिकित्सकहरूले सुरुमा सामान्य ज्वरो (टाइफाइड) भएको बताएको जनाउँदै असार १४ गते बिहान कलेजोमा संक्रमण देखिएको भन्दै ‘हाई केयर’ मा राखिएको उल्लेख छ ।
‘त्यसपछि उहाँहरूले ‘टाइफाइड’ र ‘टाइफस’ नभएको र निमोनिया भएको बताउँदै बाहिरिनुभएको थियो,’ निवेदनमा भनिएको छ, ‘चिकित्सकले बोली फेरेर एकपछि अर्को रोग बताएपछि उहाँहरूले रोग पहिचान गर्न नसकेको वा लापरबाही गरेको भन्ने हामीलाई आशंका लागेको थियो ।’
बिरामीले कुरा गरी राखेकै अवस्थामा असार १४ गते राती भन्टीलेटरमा राखेको जनाउँदै उनले भनेकी छिन्, ‘७२ घण्टा भेन्टीलेटरमा राखेर उपचार गर्ने भनिएको थियो तर १२ घण्टमा नवित्दै त्यसबाट किन निकाल्नु प¥यो अझसम्म जानकारी गराइएन ।’
बिरामीको उपचारमा कुनै कमी नगर्न चिकित्सकहरूलाई पटक पटक आग्रह गरेको आवश्यक परे अर्को अस्पताल लैजान आफूहरू तयार रहेको जानकारी गराएपनि अस्पतालले उचित उपचार गरी रहेको आश्वासन दिएको जनाइएको छ ।

‘आखिर, असार १५ गते उहाँको निधन भयो । गम्भीर प्रकारको भाइरल इन्फ्लुएन्जाका कारण उहाँको निधन भएको चिकित्सकहरूको दाबी रहन गयो,’ खतिवडाले दिएको निवेदनमा भनिएको छ ।
बिरामीको निधनपछि अस्पताल प्रशासनले विभिन्न बहाना बनाउँदै रिपोर्ट दिनलाई आनाकानी र अस्वीकार गर्नुले उपचारमा त्रुटी रहेको कुरालाई थप बल पर्‍याएको उनले दाबी गरेकी छिन् ।
बिरामीको निधनपछि पटकपटक उपचारका क्रममा भएका परीक्षणका विवरणहरू, प्रयोग गरिएका औषधि साथै ‘नर्सिङ केयर’को रिपोर्ट उपलब्ध गराउन आग्रह गरे पनि सुनवाइ नभएको जनाएकी छिन्
‘साउन ९ गते भने अस्पताल प्रशासनले रिपोर्ट दिन ठाडै अस्वीकार गरेपछि डाक्टरको हेलचक्रयाइँले मृत्यु भएको हो भन्ने आशंका सत्य ठहरिएको छ,’ निवेदनमा भनिएको छ, ‘तसर्थ, मेरा श्रीमान् (यादव थपलिया)को के कारणले निधन भएको हो ? त्यसको सत्यतथ्य छानविन गरी यथार्थ विवरण सार्वजनिक गरिदिनुहुन अनुरोध छ ।’
आफू र आफ्नो परिवारले गुमाउनु जति गुमाइसक्यो, हुने क्षति भइसक्यो उल्लेख गर्दै उनले भनेकी छिन्, ‘अस्पतालका चिकित्सकहरूको लापरबाहीले भविष्यमा फेरि अर्को व्यक्तिले ज्यान गुमाउन नपरोस्, हाम्रो परिवारले जस्तै क्षति कसैले पनि भोग्न नपरोस् भन्दै यो निवेदन पेश गरेकी छु ।
onlinekhabar

https://www.youtube.com/watch?v=f4XnXmv0BRM

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार