संसदीय सुनुवाई विशेष समितिकी सदस्य तथा नेकपाकी सांसद निरुदेवी पालमाथि भएको घटनाको छानबिन गर्न संसदमा सांसदहरुले माग गरेका छन् ।

मंगलबार साँझ मात्र समितिकी सदस्य निरु पाललाई छातीमा पेस्तोल तेस्र्याउँदै अज्ञात व्यक्तिले धम्की दिएको घटना सार्बजनिक भएसँगै बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरु डा. डिला संग्रैला, अहतर मुसलमान, हृदेश त्रिपाठी लगायतले घटनाको छानबिन गर्न माग गरेका छन् ।

बैठकमा सांसद पालले मंगलबार बेलुका आफूमाथि अज्ञात समूहले पेस्तोल ताकेर धम्क्याएको जानकारी दिँदै घटनाको छानबिन गर्न माग गरिन् । उनले सुनुवाइ समितिको निर्णय प्रभावित पार्न घटना घटाउन खोजे पनि आफू विचलित नहुने बताइन् ।

आफू दूध किनेर घरभित्र पस्न लाग्दा गल्लीमा रेनकोट ओडेर लुकेर बसेका व्यक्तिले आफ्नो छातीमा पेस्तोल ताकेको सांसद पालले प्रतिनिधिसभामा बताइन् । उनले आफ्नो छातीमा पेस्तोलको कारण दाग लागेको उल्लेख गरिन् ।

सांसद पालले भनिन्, ‘मेरो खुट्टा अल्झाएर छातीमा पेस्तोल देखाइयो । अझै छातीमा दाग छ । यस्ता घटनाले डगमगाउदिन ।’

प्रहरीले यस घटनाको अनुसन्धान थालेको जनाएको छ । प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद यथावतै रहेको छ ।
news24nepal

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार