काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले सांसद निरु पालमाथि भएको घटना राजनीतिक प्रकारको घटना भएको बताएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा समय मागेर बोल्दै गृहमन्त्री रामबहादुर थापाले सो कुरा बताएका हुन् ।

बैठकमा बोल्दै मन्त्री थापाले राजनीतिक स्थिरता नचाहनेहरुले मुलुकमा आपराधिक क्रियाकलाप बढाइरहेको दाबी समेत गरे । यथास्थितिवादीहरुले धार्मिक र साम्प्रदायिक द्धेष फैलाएर त्यसलाई अतिरञ्जित गरि मुलुकमा अस्थिरता फैलाउनका लागि ठुलो कसरत गरिरहेको भन्दै उनले त्यसतर्फ सरकार सचेत रहेको बताए ।

सांसद पालले मंगलबार साँझ बानेश्वरमा आफुलाई अज्ञात समुहले कञ्चटमा पेस्तोल तेस्र्याएर धम्क्याएको बताउँदै आएकी छन् ।

त्यस्तै, गृहमन्त्री थापाले कञ्चनपुरको भिमदत्त नगरपालिकाकाकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको घटनाबारे सदनलाई जानकारी दिए । परिवारले दिएको जाहेरीका आधारमा अपराधमा शंकास्पद मानिएका कैलालीका २२ बर्षीय जीवन घर्तीमगर र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका ५ का १७ बर्षे दिपक मेघीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी पनि उनले दिए । उनले केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलिले घटनाको अनुसन्धान गरिरहेको जानकारी पनि गराए ।

कक्षा ९ मा अध्ययनरत पन्त विद्यालयबाट ट्युसन पढ्न गएको तर नफर्ककेको पारिवारिक जानकारीको आधारमा खोजतलास गर्दा श्रावण ११ गते विहान उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन ।

घटनाको विरोधमा आफन्तले श्रावण ११ गते साँझ भएको प्रर्दशनमा शान्ति–सुरक्षा विग्रन नदिनका लागि प्रहरीबाट २२ सेल अश्रँुग्यास प्रहार गर्नुपरेको जानकारी गृहमन्त्री थापाले दिए । उनले यस प्रकारका जघन्य अपराध प्रति सरकार अत्यन्तै गम्भीर र सम्वेदनशील रहेको स्पष्ट पारे । निर्वाध मदिरा सेवन र लागूऔषधको प्रयोगले घरेलु हिंसा र यौन हिंसालाई बढाएको उनको भनाई थियो ।

रातोपाटी संवाददाता

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार