हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुर तथा लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा छुट्टाछुट्टै घटनामा २०३ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

गाँजा ओसारपसारमा एक भारतीय र एक नेपाली गाडी प्रयोग भएको पाइएको छ । प्रहरीले एउटा भारतीय बोलेरो गाडीलाई मकवानपुर जिल्ला मनहरी गाउँपालिका–९ खरंगाबाट ४ जनासहित ८८ केजी ७२० ग्राम गाँजा र यसैगरी ना३च ४७६२ नम्बरको सेतो बोलेरो पिकअपमा फल्सबटम बनाइ लुकाईछिपाई मकवानपुरबाट महोत्तरी हुँदै भारततर्फ लान लागिएको ११५ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

मनहरी गाउँपालिका–९ खरंगाबाट पक्राउ पर्नेहरुमा उदयपुर जिल्ला ताप्ली गाउँपालिका–१ पिपलभन्ज्याङका ५८ बर्षका पदम हमाल ठकुरी, सिरहा जिल्ला धनगढी नगरपालिका–३ बस्ने बर्ष ३५ का सुरेश महतो, सिरहा जिल्ला औरही गाउँपालिका –२ का बर्ष ४४ का छेदी दास र मकवानपुर जिल्ला राक्सिरांग गाउँपालिका–१ बस्ने बर्ष ४२ का कृष्ण बहादुर मोक्तान रहेका छन् ।

पक्राउ पर्ने मध्ये पदम हमाल ठकुरी विगत ४ बर्षदेखि नै मकवानपुर जिल्लाका विभिन्न ठाउँहरुबाट गाँजा र चरेस जम्मा गरि भारततर्फ अवैध कारोवार गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । बरामद उक्त गाँजा सिरहा जिल्ला हुँदै नेपाल–भारत सिमानाबाट भारततर्फ लैजान लागेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

पक्राउ परेका चालक छेदी दास पनि पटक–पटक लागुऔषध, गाँजा चरेसको अवैध कारोबारमा सक्रिय रहेको र मकवानपुरका कृष्ण मोक्तान जिल्लाका विभिन्न स्थानबाट गाँजा र चरेस संकलन गरि ओसारपसारमा सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यसैगरी ना३च ४७६२ नम्बरको सेतो बोलेरो पिकअपमा फल्सबटम बनाइ लुकाईछिपाई मकवानपुरबाट महोत्तरी हुँदै भारततर्फ लान लागिएको ११५ केजी गाँजासहित सिन्धुली जिल्ला कमलामाई नगरपालिका–१२ बस्ने बर्ष ३६ को दिनेश मगर र सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–७ बस्ने ३१ बर्षका ज्ञान बहादुर बुढासैली हेटौडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट पक्राउ परेका छन् ।

पक्राउ परेका दिनेश पटक–पटक लागुऔषध ओसारपसारमा संलग्न रहेको र निजले नै उक्त गाडीमा फल्सबटम बनाई कारोवारमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

निज पक्राउ परेका ६ जनालाई नै लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान र कारवाही भैरहेको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक मधुकुमार थापाले बताए ।

रातोपाटी संवाददाता

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार