संगठित सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूले उच्च अदालतमा निवेदन दिन थालेका छन् । जिल्ला अदालत मोरङको आदेश उल्ट्याउन गर्न माग गर्दै बुधबारसम्म ३० अभियुक्तले उच्च अदालतमा निवेदन दिएका छन् ।
पुर्पक्षका लागि कारागारमा राख्नुपर्ने जिल्ला अदालतको आदेश कानुनअनुसार नभएको उनीहरूको जिकिर छ । निवेदन दिनेमा थुनामा रहेका २९ र धरौटीमा छाडिएका एक अभियुक्त छन् । जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै अदालतको बन्दोबस्तीको नियम १७ अनुसार उनीहरूले निवेदन दिएका हुन् ।
गत १८ फागुनमा मोरङको उर्लाबारी नगरपालिका– १ स्थित जंगलमा उर्लाबारी– ७ का सनम शाक्यको हत्या गरिएको थियो । हराएको साढे ३३ किलोग्राम सुन पत्ता लगाउने क्रममा गोरे भनिने चूडामणि उप्रेतीको समूहले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो । सनमको शव १९ फागुन बिहान विराटनगर– ३ पोखरियामा जिपभित्रबाट प्रहरीले बरामद गरेको थियो । त्यसपछि गृह मन्त्रालयले विशेष छानबिन टोली गठन गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे विशेष अनुसन्धान थालेको थियो ।
सुनवाइ भएन
पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूले उच्च अदालतमा निवेदन दिन थाले पनि सुनुवाइ भने भएको छैन । आर्थिक वर्ष समाप्ति र आगमनको सँघारमा सरकारी वकिलको कार्यव्यस्तता र कैफियत दाखिलामा ढिलाइ भएकाले पेसी तोकिए पनि सुनुवाइ हुन नसकेको रजिस्ट्रार नारायणप्रसाद रेग्मीले बताए । २४ भदौमा पेसी तोकिएको उनले बताए ।
३४ अभियुक्त कारगारमा
मोरङ अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पहिलोपटक ८ जेठमा ३० मध्ये २८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि थप ६ अभियुक्तलाई थुनामा राख्ने आदेश गरेको थियो । त्यस्तै, प्रहरी हवल्दार अमरबहादुर थापा, प्रहरी जवान विष्णुबहादुर
खड्का, मोरङको उर्लाबारीका सुन व्यवसायी रेवन्त आचार्य, झापा दमकका मनिचेन्जर सञ्चालक विनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
पाँच अभियुक्त प्रहरी हिरासतमै
जिल्ला सरकारी वकिलको कार्यालय, मोरङले पहिलो चरणमा ६३ र त्यसपछि थप सात गरी ७० अभियुक्तविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । उनीहरूविरुद्ध सन् २०१५ जुलाईयता १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम सुन तस्करी गरेको अभियोग लगाइएको छ ।
अहिलेसम्म सुन तस्करी आरोपमा ७५ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये सुन कारोबार गर्ने विमल पोद्दार, इम्तियाज उद्दिन, राजकुमार दारुका, अकबर साह र प्रभात अग्रवाललाई प्रहरी हिरासतमै राखिएको छ ।
उच्च अदालत गुहार्ने अभियुक्त
उच्च अदालतमा निवेदन दिनेहरूमा पूर्वडिआइजी गोविन्द निरौला, निलम्बित एसएसपी श्यामकुमार खत्री, निलम्बित एसपीद्वय विकासराज खनाल र दिवेश लोहनी, निलम्बित डिएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी छन् । त्यस्तै, सई बालकृष्ण सञ्जेल, प्रहरी जवान विष्णुबहादुर खड्काले पनि निवेदन दिएका छन् । खड्कालाई १५ हजार धरौटीमा छाडिएको थियो । उनले सादा तारेखमा छाड्न माग गरेका छन् ।
यसैगरी, उच्च अदालतमा निवेदन दिनेहरूमा हेमन्त गौतम, सम्बिरप्रसाद तोलांगे, एलबी भनिने लालबहादुर मगर, टेकराज मल्ल ठकुरी, भुजुङ गुरुङ, महावीरप्रसाद गोल्यान, आरके भनिने राजेन्द्रकुमार शाक्य, बिजेन्द्रमान श्रेष्ठ, राजन कुमार, राजु महर्जन, कपिलराज पुरी, पुण्यप्रसाद लामा तामाङ, राजन थापा, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, माधव भनिने मदनप्रसाद घिमिरे, अम्बरमान डंगोल र मदन सिलवाललगायत छन् ।
nayapatrika







