१८ साउन, काठमाडौं–
नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा एक सयभन्दा धेरै प्रहरीको टोली अप्रेसनमा खटिएको छ । अनुसन्धान बिहीबार बिहानैदेखि साँझ अबेरसम्म जारी रह्यो ।
डिएसपी काफ्लेले प्रारम्भिक चरणको अनुसन्धानका क्रममा ९० पक्राउ परेको जानकारी दिए । उनले भने, ‘बिहीबार बिहानैबाट घटनामाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई वृत्तमै राखेर सोधपुछ हुँदैछ । दोषी देखिए मुद्दा चलाइने छ ।’

अनुसन्धानका लागि सादा र पोषाक सहितका प्रहरी खटाइएको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल पनि फिल्डमा खटिएका छन् । एसएसपी पोखरेलले नयाँ पत्रिकासँग भने, ‘घटनालाई विभिन्न कोणबाट हेरिएको छ । प्रकृति हेर्दा घटना गम्भिर नै देखिन्छ । केही पक्राउ परेका छन् । सोधपुछ चलिरहेको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप नबोलौं ।’
सांसद पालले धम्की दिने व्यक्तिले खोसेर लगेको भनेको आइफोनसमेत फेला परेको छैन । लुटिएको भनिएको दिनबाटै मोबाइल स्विच अफ रहेको प्रहरीले बतायो । वृत प्रमुख डिएसपी काफ्लेले भने, ‘लुटिएको फोन खोजी भइरहेको छ । तर, भेट्टाउन सकिएको छैन । स्वीच अफ गरिएकाले लोकेशन पत्ता लगाउन नसकिएको हो ।’अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सांसद पाल धम्की घटनामा गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले अपरेशन स्वीपअन्तर्गत ९० भन्दा धेरै पक्राउ परेको बताए ।
chautarionline

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार