गत साउन ७ गते सत्ताधारी नेकपाकाे प्रवक्ताबाट नारायणकाजी श्रेष्ठले राजीनामा दिएपछि त्यसले ठूलाे तरंग निम्ताएकाे छ ।

नेता श्रेष्ठले आफ्ना पूर्व एकताकेन्द्र समुह निकट कार्यकतासँग कुरा गर्दै ‘मूलतः पार्टी नेतृत्व जनआकाङक्षा अनुसार अगाडि नबढेको र आफूलाई समेत त्यस बाटोमा अगाडि बढ्न रोक लगाएका कारण राजिनामा दिएको बताएका छन् ।
आफ्नाे गुटका कार्यकर्ताहरुसँग कुराकानी गर्दै नेता नारायणकाजीले भन्ने गरेका छन्, “गत साउन ७ को कुरो हो । अनसनरत डा. गोबिन्द केसीले सरकारसँग वार्ता गर्ने माग गरे । त्यो दिन बिहान म गोर्खा गएको थिएँ । त्यहाँबाट फर्केपछि पार्टीमा बैठक बस्ने भनियो । ७ गते बेलुका बैठक बसियो । बैठकमा ‘गोबिन्द केसी प्रायोजित ढंगले अनसन बसेका हुन्, हाम्रो पार्टी र सरकारलाई असफल बनाउन अनसन बसेका हुन’्, भन्ने कुरा आयो । प्रधानमन्त्री र मैले त्यो कुरा सही होइन भन्यौं । ‘विशेषतः उनी मुढी मान्छे हुन्, कतिपय उनका कुरा गलत छन् । तर पनि उनी मूलतः सत्याग्रही नै हुन् भनेँ” ।
पूर्व उपप्रधानमन्त्री समेत भएका नेता श्रेष्ठले पार्टीको सो बैठकमा ‘माथेमा कार्यदलको प्रतिवेदन चाहिँ पूरै प्रतिक्रियावादी हो’ भन्ने कुरा आउँदा आफूले त्यसको प्रतिवाद गरेको बताएका छन् । स्रोतका अनुसार कार्यकर्ताहरुसँग उनले भने, “पार्टी बैठकमा मैंले माथेमा प्रतिवेदन सकारात्मक छ, हामी कम्युनिस्टहरुले त झन् यस्तोलाई समर्थन गर्नुपर्ने खालको छ भनेँ” ।
बैठकमा कोही नेताले ‘कसैले कुनै माग राखी पूरा नभए कोशीमा हाम्फाल्छु भन्ला, त्यसो भन्दैमा माग पूरा गर्न मिल्छ ?’ भनेर प्रश्न गरेको प्रसङ्ग पनि नेता नारायणकाजीले आफ्ना कार्यकर्ताहरुलाई सुनाए । उनले सामाजिक सञ्जालमा कम्युनिस्ट सरकार माफियाको चक्करमा लागेर जनतालाई दमन गरिरहेको प्रचार भइरहेछ र जनतालाई त्यस्तो प्रचारबाट सरकारप्रति नकारात्मक प्रभाव परिरहेको कुरा पनि पार्टी बैठकमा राखेको कार्यकर्ताहरुलाई सुनाउन भ्याए ।
बैठकमा आफूले राखेको थप कुराको सन्दर्भमा उनले भने, “गोबिन्द केसी जति हो त्योभन्दा बढी उचाइमा जनताले उनलाई बुझेको अवस्था अहिले छ भन्ने कुरा सुनाउँदा मलाई ‘गोबिन्द केसिलाई किन भेटेको ? भन्ने प्रश्न पार्टी नेतृत्वले सोधे । त्यस मामिलामा उनीहरुले अलि असन्तुष्टि व्यक्त गरे’ । उनका अनुसार नेतृत्वले उनलाई ‘पार्टी प्रवक्ता जस्तो भएको मान्छेले सुशिला कार्की, गोबिन्द केसीजस्ताहरुलाई भेट्नु नै हुँदैनथ्यो’ भनी आलोचना गर्यो ।
नेतृत्वको कुरा सुनिसकेपछि उनले ‘त्यसोभए तपाईंहरुको प्रवक्ता पद तपाईँहरुसँगै राख्नुहोस्’ भनी आफूले ‘सुशीला कार्की र गोबिन्द केसीसँग पार्टीको लाइनलाई क्रियान्वयन गर्न नै सुरुवातमा भेटघाटको पहल गरेको हो‘ भनी जवाफ दिएको कार्यकर्ताहरुलाई सुनाए ।
श्रेष्ठले आफूले पहल गरेको काम ‘पार्टीको लाइन विपरित छ भने छलफल गरौं । मैले त पार्टीको लाइनलाई लागु गर्न नै भूमिका खेलेको हुँ । मलाई त झन धन्यवाद पो दिनुपर्ने थियो ।’ उनले कार्यकर्ताका सामु भने, ‘यदि तपाईंहरुलाई प्रवक्ता पद चाहिएको हो भने त्यसलाई तपाईंहरुले नै लिनुस् ।’
यसरी नारायणकाजीले लिखित रुपमा पार्टी प्रवक्ता पदबाट गत साउन ७ गते नै राजीनामा दिएको कुरा कार्यकर्ताहरु सामु प्रष्ट ढंगले राखेका छन् ।







