पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक कार्यक्रमहरुमा त्यति देखिँदैनन् । प्रचण्डका अभिव्यक्तिहरु पनि खासै धेरै बाहिर आउन छाडेका छन् । विगतमा राजनीतिक चर्चाको केन्द्रमा रहने प्रचण्ड अचेल किन ‘रिजर्भ’ मा बस्न थालेका होलान् भन्ने प्रश्न राजनीतिक बजारमा गाइँगुई सुरु भएको छ ।
तर, बिहीबार नयाँ बानेश्वरको अल्फाबिटामा आदिवासी जनजाति आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले मनभित्रको आँधी-तुफान ओकल्ने काम गरे प्रचण्डले भाषणका क्रममा संविधान संशोधनीय रहेको तर, यसका लागि आवाज उठाउनुपर्ने उनले बताए । मञ्चमा रहेका जनजाति आन्दोलनका प्रवक्ता ओम गुरुङलाई सडकमा आवाज उठाउन आग्रह गर्दै उनले भने- म संसदमा आवाज उठाउँछु ।’
आफूलाई प्रचण्ड बन्न मन परेको तर, उपल्लो वर्गले पुष्पकमल दाहाल बनाउन मरिहत्ते गरेको सुनाउँदै उनले भने- मैले भनिरहेको छु, म प्रचण्ड हो । किनभने प्रचण्डसँग जनजाति छ, मधेसी छ, महिला छ, किसान छ, सिंगो राष्ट्रको एकता छ । पुष्पकमलसँग कहीँ न कहीँ बाहुन छ ।’
प्रचण्डले अझै अगाडि बढेर भने- ‘मैले गरेको आन्दोलन बाहुनको चाहिँ होइन । १७ हजारको बलिदानभित्रबाट हेर्यो भने ममाथि सबै जातजाति, वर्ग समुदायको ऋण पनि छ ।’ आफ्ना धेरै साथीहरुलाई पार्टी फुटाउँदै प्रचण्ड बन्न रहर लागेको उनले व्यंग्यसमेत गर्न भ्याए ।
प्रचण्डले भने- ‘ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जानेन भने इतिहासले नेता मान्दैन । परिस्थिति हेरफेर भइसकेको हुन्छ, हामी पुरानै कुरा रट लगाएर बस्छौं । मेरो दृष्टिमा के छ भने मैले जे गरेँ, त्यो गर्नु पर्ने थियो, एक किसिमले भन्नुहुन्छ भने लेनिनले डाकासँग गरेजस्तै मैले पनि सन्धि गरेको छु । कैयौं आफ्ना मुद्दाहरुलाई थाति राखेर प्राप्त हुन सक्ने जति लिने गरेको छु । यति हो, अब सकिँदैन भनेको पनि छैन ।’ khusikokhabar बाट







