सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद शशी श्रेष्ठले पछिल्लो समय भइरहेका बलात्कारका घटना सरकारलाई फेल गराउने खेल हुन सक्ने आशंका व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले यस्तो बताएकी हुन् । दिनदिनै बलात्कारका घटना बढिरहेका बेला सांसद श्रेष्ठले प्रतिनिधि सभाको विशेष समयमा यस्तो विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।
सांसद श्रेष्ठले अहिलेको अवस्थाला २०४६ सालको आन्दोलनपछि आएको बहुदलीय व्यवस्थासँग तुलना गरिन् । बहुदल आएपछि यस्तै प्रकृतिका घटना भइरहँदा पञ्चायत शासनका समर्थकले बहुदल आएको थाहा छैन भनेको पनि उनले स्मरण गराइन् ।
केही समययता भइरहेका बलात्कारका घटनाबाट कम्युनिस्ट नेतृत्वको सरकारलाई बदनाम गराउने षड्यन्त्रको आशंका छ, उनले भनिन् । श्रेष्ठले बलात्कारका घटना कम्युनिस्ट नेतृत्वको सरकारलाई फेल बनाउने खेल हुन सक्ने दोहोर्याइन् । देशमा दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार बनेको छ उनले भनिन्, यो सरकारलाई असफल पार्न कतै षडयन्त्र त भएको छैन ? सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ ।’
सांसद श्रेष्ठले बलात्कारका घटनाका दोषीहरुलाई कारबाही नभएकोमा पनि चिन्ता जनाइन् ।न्याय नपाए गोर्खा जानूभन्ने उखान स्मरण गर्दै उनले अहिले भइरहेका बलात्कारका घटनाबाट असुरक्षित महिलाहरुले जाने ठाउँ पनि नरहेको बताइन् ।
महिलाहरुले अहिले असुरक्षित महसुस गरेर जाने ठाउँसमेत छैन, उनले भनिन्,कञ्चनपुर, जाजरकोट, कैलालीमा र काभ्रेमा भएका बलात्कारका घटनामा संलग्नलाई कारबाही नहुनुको कारण बुझ्न सकिन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।







