भारतलाई गाली गर्दै कथित राष्ट्रवादी छवि बनाएर चुनावमा जनतालाई झुक्याएका कम्यूनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओली भारतसामु लम्पसार परेको फेरि देख्न पाइने भएको छ ।

जनतालाई झुक्याउन राष्ट्रवादीजस्तो देखिएपनि अघिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा ओलीको लम्पसारवाद देखिएको थियो । मोदी आगामी भदौ १४ र १५ गते नेपाल आउने भएपछि ओलीको नक्कली राष्ट्रवाद फेरि नांगिने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा २ दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बिनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले जनाएको छ ।

यसअघि, बैशाख २८ गते २ दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना बनाएका थिए । पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाडौं फर्केका थिए ।

२०७१ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदीले जनकपुरसँगै लुम्बिनीको समेत भ्रमण गर्ने तयारी थियो । त्यो बेला पनि लुम्बनीको भ्रमण गर्ने भनेर सम्पूर्ण तयारी पूरा भएको थियो । मोदी आउने भएपछि ओली सरकारले उनको स्वागत र सेवा गर्न तयारी सुरु गरेको छ ।

अघिल्लो पटक मोदी भ्रमण हुँदा ओली सरकारले रातारात सडक कालोपत्रे गर्दै सरकारी ढुकुटीबाट करोडौं बजेट सिध्याएको थियो । मोदीले भ्रमणका क्रममा गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।

अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द गरेपछि प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणसमेत रद्द भएको थियो । तर, यस पटक भने उनी लुम्बिनी जाने निश्चित भएको छ । उनले यसअघि जनकपुरको भ्रमण गरिसकेका छन् ।

मोदी भ्रमणका क्रममा जनकपुरमा हतियारधारी दस्ता नेपाल प्रवेश गरेको भनेर संसदमै आलोचना भएको थियो । यसपालि समेत ओली सरकारले निर्वाध रुपमा भारतीय हतियारधारी दस्तालाई प्रवेश गराएर नेपाली सुरक्षाकर्मीको मनोवल घटाउने देखिएको छ ।

शान्ति क्षेत्र भनेर चिनिने बुद्ध जन्मभूमि लुम्बिनीमा मोदी भ्रमणको बहानामा भारतीय हतियारधारी सुरक्षाकर्मी निर्वाध रुपमा परिचालन हुनेछन् । नेपाली सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न ठाउँमा सफल सुरक्षा दिइरहेको अवस्थामा भारतले मनोवल गिराउन आफ्नै सुरक्षा दस्ता खटाउने गरेको छ ।

बैशाखमा भएको भ्रमणमा मोदीले मुस्ताङको मुक्तिनाथ दर्शन गरेर पोखरा हुँदै लुम्बनी जाने तयारी थियो । तर, मोदीले त्यतिबेला ३ वटै ठाउँको भ्रमण रद्द गरेका थिए । जनकपुर र मुस्ताङको भ्रमण गरिसकेका मोदी यस पटक पोखरा हुँदै लुम्बिनी जाने तयारी भइरहेको छ ।

मोदीले उद्घाटन गर्ने धर्मशालाको अवलोकन भारतीय जनता पार्टीका महासचिव राम माधवले गरिसकेका छन् । साउन १४ गते थिङ्क ट्याङ्कको सम्मेलनमा भाग लिन नेपाल आएका राम माधवले नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीको साथमा सो धर्मशालाको अनुगमन गरेका थिए ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौंथो शिखर सम्मेलन काठमाडौंमा हुन लागेको छ । बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ ।

क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल सदस्य राष्ट्रको रुपमा रहेका छन् । बैठकमा सबै सदस्य देशका सरकार प्रमुखको सहभागिता रहने जनाइएको छ ।

अन्य देशका प्रतिनिधिले सामान्य सहभागिता जनाउने भएपनि भारतीय प्रधानमन्त्रीलाई ओली सरकारले गर्ने विशेष सेवा सत्कार जनतासामु आलोचनाको विषय बन्ने गरेको छ । देखावटी रुपमा राष्ट्रवादको नारा लगाएपनि ओली सरकार भारतसामु लम्पसार पर्ने गरेको यसअघिको मोदी भ्रमणमा देखिएको थियो । mediadabali बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार