रामेछाप । नजर अन्दाजको भरमा रणजोर खोला आसपासका खेतीयोग्य जमीन जोगाउने नाममा मन्थली नगरपालिकाले दुई आर्थिक वर्षमा गरेको लाखौ रुपैयाँ रकम खोलाले बगाएर स्वाहाँ भएको छ भने किसानको खेतमा खोलो कुदेको छ ।\
मन्थली नगरपालिका वडा नं ३ को कठजोर र वडा नं ४ को सालुको घ्याप्चे शिर हुँदै मन्थली नगरपालिका वडा नं १ मन्थलीघाटमा आएर तामाकोशी नदीमा टुगिंने उक्त रणजोर खोलाले वर्षेनी किसानहरुको खेतियोग्य जमिन सयौं रोपनी कटान गर्दै आएको छ । पालिकाले किसानहरुको खेति योग्य जमिन कटान रोक्ने उदेश्यले गरेको दुई आर्थिक वर्षको मसान्तमा लाखौ रुपैयाँ रकम खर्चेको भएता पनि उक्त रकम खोलाले बगाएर तामाकोशी नदिमा पुर्याईदिएको हो ।
खोला खोल्ने नाममा मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७३÷०७४ मा ७ लाख रुपैयाँ र आर्थिक वर्ष २०७३/७४ मा ५ लाख रुपैयाँ गरी १२ लाख रुपैयाँ रकम खर्च गरेको थियो । दुई आर्थिक वर्षमा गरेको यति धेरै रकमको चिनो नै नराखी सबै रकम खोलाले बगाएर तामाकोशी नदीमा मिसाएको छ । नगरपालिकाले खोला खोल्ने नाममा हचुवाको भरमा रकम खर्च गरेको स्थानीयहरुको आरोप छ ।
यसअघि पनि खेति योग्य जमिन जोगाउने उद्धेश्यले जिल्ला कृषी विकास कार्यालय, जलउत्पन्न प्रकोप विभाग, तत्कालिन जिल्ला विकास समिति र गाउँविकास समिति, भुसंरक्षण कार्यालय, सिंचाई डिभिजन विभाग लगाएतले करोडौ रुपैयाँ लगानी गरेको भएता पनि खोला नियन्त्रण हुन सकेको थिएन । विगतलाई हेर्दै नहेरी नगरपालिकाले हचुवाको भरमा उक्त लाखौ रुपैयाँ रकम खोलामा हाल्नु गलत भएको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिए ।
उनले भने– ‘सयौ वर्षदेखि हुदै आएको खोलालाई छेक्न र खोलालाई हामीले भनेको ट्रयाकमा हिडाउन सकिदैन् । नगरपालिकाले दुई वर्ष लगानी गरेको एक चिम्टी पनि केही नराखि खोलाले बगाएपछि यस वर्षबाट पालिकाले किसानहरुको खेत जोगाउन छुट्टै विकल्प खोजिनु पर्ने र हचुवाको भरमा लगानी गर्न नहुँने प्रमुख खड्काले बताए ।
नगरपालिकाले विगत वर्षदेखि हुदै आएको रणजोर खोलालाई तामाकोशी नदी किनारबाट खोल्दै खोलाको बगर दुवैतर्फ उकास्दै वडा नं १ स्थित भैश्वेस्वर चोकसम्म ल्याएको थियो । खोला बह्ने बहाव एकतित्र पारेर किसानहरुको खेत जोगाउने उद्धेश्य राखेको नगरपालिकाको उक्त योजना दुवै वर्ष बिफल भएको छ । खोलाकोबीच भागमा स्काइभेटर लगाएर खाल्डो बनाएपछि झनै खोलाले दुवै तर्फको सयौं रोपनी खेतियोग्य जमिन कटान गरेर झारेपछि किसानहरु झनै चिन्तित भएको स्थानीय किसान धनबहादुर श्रेष्ठले बताए ।
खोलाले मन्थली ३ को शिरान देखि तामाकोशी नदी छेउसम्मको करिव १ हजार रोपनी भन्दा बढी खेतियोग्य जमिन कटान गरेको छ । हिउँदभर डोजर र कामदार लगाएर खेतका ठूला ठूला गरा बनाएर वर्षातपछि धान रोपाई गरेका किसानहरुको खेत खोलाले धानसँगै बगाएपछि किसानहरुलाई झनै चिन्तित वनाएको कृषक कृष्णबहादुर श्रेष्ठले बताए ।
रकम खोलामा खर्चेको विषयमा जानकारी लिन खोज्दा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भानुभक्त न्यौपाने सँग सम्र्पक गर्दा उनको मोवाइल स्वीच अफ भएको कारण सम्र्पक हुन सकेन ।







