काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदबाटै प्रधानमन्त्रीको राजीनामा मागेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले राजीनामा माग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलार्इ जोगाउन सकेनन्। नेकपाका सांसदले ओलीलार्इ जोगाउने प्रयास गरेपनि अन्ततः कांग्रेसको माग सामु सभामुख कृष्णबहादुर महरा पनि लत्रिए। अब प्रधानमन्त्रीमाथि कांग्रेस उठाएको नैतिकताको विषयमा संसदमा छलफल हुने भएको छ।
आजको बैठकमा कांग्रेस सांसदले सरकार नियन्त्रित र निर्देशित न्यायलयको पक्षमा अघि बढेको आरोप लगाए। सांसद ज्ञानेन्द्रबहादुर कार्कीले साउन १८ गते संसदीय समितिको बैठकले बिना कारण र आधार प्रधानन्यायाधीशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश दिपकराज जोशीको सिफारिसलाई बहुमतको बलबाट अस्वीकृत गर्ने निर्णय गरेको भन्दै गम्भीर आपत्ति जनाए।
उनले जोशीलाई सिफारिस गर्ने संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरे। कार्कीले भने, “जोशी अयोग्य हुन् भने देखि त्यो नामलाई सिफारिस हुने समितिका अध्यक्ष सम्मानीय प्रधानमन्त्रीको अवस्था के हुनेरु उहाँले कानुनी, नैतिक र राजनीतिक जिम्मेवारी लिनु पर्ने कि नपर्नेरु यो नेपाली जनताले प्रश्न गरेका छन्। अयोग्यलाई सिफारिस गर्ने प्रधानमन्त्रीले उहाँकै दलबाट उहाँको प्रस्ताव अस्वीकृत भइसकेपछि त्यो पदमा प्रधानमन्त्रीले नैतिक रुपमा बस्न उचित हुन्छ कि हुदैनरु” उनले सरकार नियन्त्रित र निर्देशित न्यायपालिकातर्फ अघि बढेको भन्दै आपत्ति जनाए।
समितिले शंकाको आधारमा विना प्रमाण मनगणन्ते आधारमा जोशीको प्रस्ताव अस्वीकृत गर्ने काम गरेको र यसले स्वतन्त्र न्यायपालिकामाथि निर्मम रुपले प्रहार गर्ने काम भएको भन्दै कांग्रेसले अबैध ठहर गरेको पनि उनले बताए। न्यायपालिका जस्तो संवेदनशील र गम्भीर विषयलाई दुई तिहाई बहुमतको आधारमा गरिएको निर्णयप्रति कांग्रेसले घोर आपत्ती जनाएको पनि उनले स्पष्ट पारे।
कार्कीले आफ्नो धारणा राख्दै गर्दा सत्तापक्षका सांसदहरु खगराज अधिकारी र विरोध खतिवडाले उठेर विरोध जनाएका थिए। कार्की बोलेपछि आफ्नो धारणा राखेका सांसद खगराज अधिकारीले संविधानको बर्खिलाप हुने गरि प्रतिपक्षी दलबाट आवाज आएको भन्दै रेकर्डबाट हटाउन माग गरे। उनी बोल्दै गर्दा कांग्रेसका सांसदहरुले उठेर विरोध जनाई रहे। कांग्रेस सांसदहरू उठेपछि प्रधानन्यायाधी नियुत्तिबारे संसदीय सुनुवाइ समितिको निर्णय मगाएर त्यसमाथि छलफल गर्ने निर्णय लिए।







