
अमेरिका लगायत अन्य साम्राज्यवादी शक्तिहरुले उत्तर कोरियामाथि लगाइरहेका नाकाबन्दी विरुद्धमा उत्तर कोरियासँग मिलेर साम्राज्यवादविरोधी मोर्चा बनाएर जान आफूहरु तयार रहेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले बताएका छन् ।
उक्त कुरा महासचिव किरणले नेपाल कोरिया लेखक पत्रकार मञ्चद्वारा सोमबार ललितपुर पुल्चोस्थित होटल ग्रिनवीच भिलेजमा आयोजित एक अनतरक्रिया कार्यक्रममा बताएका हुन् ।
किरणले अमेरिका लगायत सबैखाले साम्राज्यवादविरुद्ध संघर्ष गर्दे जाने क्रममा पछिल्लो अवस्थामा अमेरिका र उत्तर कोरियाको बीचमा भएको सिंगापुर शिखर वार्ताले सकारात्मक सन्देश दिएको बताएका छन् । उनका अनुसार संघर्षका क्रममा राजनीतिक र कुटनीतिक दुबै पहल कदमीलाई बदलिएको परिस्थितिअनुरुप प्रयोग गर्ने क्रममा उत्तर कोरियाले वार्ताको कुटनीतिक कदम अघि सारेको हुन सक्छ ।
उनले भने– हामीहरु कोरियालाई आवश्यकताअनुसार गरिने बार्ता सम्झौतालाई लडाइँको अर्को रुपमा लिँदा गल्ति हुदैन, तर सम्झौतावादमा फसियो भने सबै कुरा सिद्धिएर जाने तथ्यप्रति सर्तक र चनाखो हुन सुझाव पनि दिन चाहन्छौँ । उनले थपे– शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया बीचमा सिर्जना भएको शंकाआशंका र भ्रमपूर्ण प्रचारप्रति सदैव चनाखो रहन घचघच्याउँछौं । विश्वले अमेरिका उत्तरकोरिया वार्ताबाट जनताको जीत हुने राम्रो र सकारात्मक सन्देशको अपेक्षा गरेका छन् ।
मन्तव्यको क्रममा किरणले भने– उत्तर कोरियाले कोरियाली विशिष्टतामा क्रान्ति सम्पन्न गरेको र देशलाई समृद्ध र आणविक अस्त्र सम्पन्न देशका रुपमा उभ्याउन पुग्नु जुछे विचारधाराको सफलतम् प्रयोग हो । स्वावलम्बन र आत्मनिर्भरता जुछे विचारधाराका मुख्य तत्वहरु हुन् । हामीले अध्ययन गरेअनुसार जुछे विचारधाराले परिकल्पना गरेका तीन क्रान्ति भनेका विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्तिहरु हुन् । यी क्रान्तिहरु उत्तर कोरियाको सन्दर्भमा सही साबित पनि हुँदै गएका छन् । विश्व नाकाबन्दी सहेर पनि यसले यी तीन क्रान्तिलाई युनिफाइड बनाएर अघि बढाएको छ ।
परिवर्तित र विकसित आजको एक्काइसौं शताब्दीको सन्दर्भ कोट्याउँदै महासचिव किरणले भने– अमेरिका निकै कुटनीतिक ढंगले अघि बढिरहेको छ । अर्कोतिर चीनले सि जिन फिङ विचारधारालाई अघि बढाएको पनि छ । यस्तो अवस्थामा जुछे विचारधारालाई पनि छलफल र बहसमा अगाडि ल्याइनु पर्छ । समाजवाद निर्माण गर्ने विचारहरु वर्गसंघर्षको भट्टीमा ब्यबहारिक रुपमा अभिव्यक्त हुन सक्नु पर्छ । हामीहरु साम्राज्यवादविरुद्ध मोर्चा निर्माण गरी अघि बढ्न तयार हुनु पर्छ र छौँ पनि ।
अन्तरक्रिया कार्यक्रममा उत्तर कोरिया ‘कास्क’का उपनिर्देशक छोइ कोवानले जुछे विचारधाराको सही प्रयोगले उत्तर कोरियालाई आजको यो उचाईमा पुर्याउन सफल भएको बताएका थिए । त्यसै गरी कोरियाका अर्का अतिथि लेकचरर् उ सोउ चोलले कोरिया स्वतन्त्र बनाउन आम जनसमुदायको असीमित शक्तिसँग पार्टीलाई एकाकार बनाएर जुछे विचारधाराले आफूहरुलाई मुक्ति दिलाएको बताएका थिए ।
अर्का सहभागी वक्ता सीपी मैनालीले नेता किम इल सुङले देशभित्र र देश बाहिर रहेका जनताका बैरीहरुसँग लडेर कोरियालाई मुक्त गराए । यही प्रक्रियामा जुछे विचारधारा र संगुन पोलिसीको विकास भएको बताउँदै उत्तर कोरियाबाट सिक्नुपर्ने पाठहरु धेरै भएको बताएका थिए ।







