प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कञ्चनपुरकी किशोरी निर्मला पन्तका बलात्कारी र हत्यारालाई पक्राउ गरेर सार्वजनिक गर्न नसकेको भन्दै स्थानीय महिलाले सरकारविरुद्ध अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।

ओली सरकारका क्रियाकलापविरुद्ध सोमवार दिउँसो कञ्चनपुरमा साना–साना विद्यार्थी सडकमा उत्रिएका थिए । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा लगातार ओली सरकारविरुद्ध आन्दोलन भइरहेको छ । सुरुमा शान्तिपूर्ण आन्दोलन गरेका महेन्द्रनगरवासीले सरकार गम्भीर नभएपछि बन्द हड्तालको आन्दोलन सुरु गरेका छन् ।

मंगलवारदेखि आह्वान गरिएको अनिश्चितकालीन बन्दमा सहयोग गर्न आग्रह गर्दै सार्वजनिक अपिलमा लेखिएको छ, ‘बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाइ सार्वजनिक गर्न स्थानीय प्रहरी प्रशासनले ढिलासुस्ती गरेको हुँदा यथाशीघ्र अपराधी पक्राउ गर्न र शान्ति सुरक्षा माग गर्दै दबाब स्वरुप सदरमुकाम महेन्द्रनगरवासी सम्पूर्ण महिलाहरूले विगत १० दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको सबैमा विदितै छ । शान्तिपूर्ण हाम्रो आन्दोलनको स्थानीय प्रशासनले कुनै सुनुवाइ नगरेको हुँदा अनिश्चितकालीन यातायात बन्द गरी अपराधीलाई हदैसम्मको सजाय दिलाउन तपाईको सहयोग र साथका साथै हामी सबै नगरवासी महिला दिदीबहिनी अपिल गर्दछौं ।’

जनतालाई शान्ति सुरक्षा दिन नसकेको, किशोरी बलात्कारका अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय विद्यार्थी, बालिका र महिलाले ओली सरकारको विरोध गरिरहेका छन् । सरकारले सर्वसाधारणलाई शान्ति सुरक्षा दिन नसकेको भन्दै सोमवार सरकारविरुद्ध कञ्चनपुरमा बन्द आह्वान गरिएको थियो ।

बन्दको समर्थन गर्ने सोमवार सयौं विद्यार्थीले सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका थिए । सरकार बालिका र महिलाको सुरक्षाप्रति गम्भीर नभएको भन्दै बालिकाले सडकमा उत्रिएर सरकारको विरोध गर्नुपरेको जनाइएको छ ।

कञ्चनपुरमा किशोरी बलात्कार र हत्याका अभियुक्तलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै १० दिनदेखि शान्तिपूर्ण आन्दोलनरत स्थानीय सर्वसाधारणले शान्तिपूर्ण आन्दोलनबाट सरकारले घटनामा ध्यान नदिएको भन्दै बन्द आव्हान गरेका थिए । सरकारले किशोरी हत्याका अभियुक्तलाई हालसम्म पक्राउ गर्न सकेको छैन ।

पूरै देशवासीको ध्यान तान्ने गरी कञ्चनपुरमा भएको बलात्कारपछि हत्या घटनाका अपराधीलाई प्रहरीले हालसम्म खोज्न सकेको छैन । स्थानीय सर्वसाधारणले बन्द आह्वान गर्दै वितरण गरेको ‘हार्दिक अपिल’ पर्चामा लेखिएको थियो, ‘बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाई सार्वजनिक गर्न स्थानीय प्रहरी प्रशासनले ढिलासुस्ती गरेको हुँदा यथाशीघ्र अपराधी पक्राउ गर्न र शान्ति सुरक्षा माग गर्दै दबाब स्वरुप सदरमुकाम महेन्द्रनगरवासी सम्पूर्ण महिलाहरूले विगत १० दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको सबैमा विदितै छ । शान्तिपूर्ण हाम्रो आन्दोलनको स्थानीय प्रशासनले कुनै सुनुवाइ नगरेको हुँदा साउन २१ गते सबै व्यापार, व्यवसाय, शिक्षण संस्था, यातायात लगायत सम्पूर्ण बजार बन्द गरी अपराधीलाई हदैसम्मको सजाय दिलाउन तपाईको सहयोग र साथका लागि हामी सबै नगरवासी महिला दिदीबहिनी अपिल गर्दछौं ।’

बलात्कारपछि हत्या घटनाका अपराधीलाई पक्राउ गरेर कडाभन्दा कडा कारवाही गर्न देशभरबाटै माग भइरहेपनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिन्को भाँच्न सकेको छैन । किशोरी बलात्कार घटनाबारे संसदमा समेत आवाज उठेर सरकारको चर्काे विरोध भएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका –२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको रहस्य खुलेको छ । किशोरीको शव अघिल्लो शुक्रवार बिहान भीमदत्त नगरपालिका–१८ निम्बुखेडाको उखुबारीमा भेटिएको थियो ।

महिलाको नेतृत्वमा कञ्चनपुर सदरमुकाममा भइरहेको शान्तिपूर्ण आन्दोलनमा स्थानीय वासिन्दाको भौतिक समर्थन र देशवासीको नैतिक समर्थन रहँदै आएको थियो । हुँदाहुँदा ओली सरकारविरुद्ध बालबालिका समेत सडकमा उत्रिनुपरेपछि ओली सरकारको लाज भएको छ ।

बढ्दो असुरक्षाकै कारण आइतवार भक्तपुरमा एक विद्यार्थीको अपहरणपछि हत्या भएको घटना सार्वजनिक भएको छ । अपहरण र हत्याका अभियुक्तलाई प्रहरीले जवाफी कारवाही गर्दा २ जना अपहरणकारीको मृत्यु भएको बताएपनि घटनाको यकिन विवरण सार्वजनिक भएको छैन ।mediadabali

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार