विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले आइतबार बिहानै एउटा ट्विट गरिन्, जसमा उनले भनेकी छिन्– ‘विवेकशील साझा पार्टी निश्चितरुपमा संकटमा छ ।’

गत वर्ष काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जुले आफ्नो पार्टीभित्रको संकट सार्वजनिक गरिरहँदा विवेकशील साझा पार्टीको आन्तरिक कलहको सामाचार मिडियामा आइसकेको थियो । शुक्रबार केन्द्रीय कार्यालयमा सम्पादकहरुसितको छलफल सकिनासाथ कार्यकर्ता र नेतावीच कार्यालयभित्र बन्द कोठामा विवाद भएको थियो । शनिबार दिउँसो चाहिँ प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा गर्ने कार्यक्रममा खुल्लम खुल्ला नाराबाजी र होहल्ला भयो ।

उज्वल थापाले नेतृत्व गरेको विवेकशील नेपाली दल र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीवीच एकीकरण भएको ठ्याक्कै एक वर्ष पुग्दै गर्दा पार्टिीभित्रको किचलो बाहिर आएपछि अनुशासन आयोगका संयोजक किशोर थापाको संयोजकत्वमा छानविन समितिसमेत गठन भएको छ ।

थापाले पार्टीभित्रका असन्तुष्ट कार्यकर्ताहरुको वयान लिने र तहकिकात गर्ने अधिकार पाएका छन् र उनले कामसमेत थालिसकेका छन् । विहीबार र शुक्रबार दुईदिन बस्ने केन्द्रीय कमिटीको बैठकमा थापाले प्रतिवेदन पेश गर्ने स्रोतले बतायो । पार्टीका केही सदस्यहरुले सार्वजनिक कार्यक्रममै नाराबाजी गरेपछि उनीहरुमाथि अनुशासनको कारवाही हुन सक्ने पार्टीको उच्च स्रोतले बताएको छ ।

विवेकशील साझा पार्टीले आउँदो विहीबार र शुक्रबार दुई दिन आयोजना गर्न लागेको बैठकको मुख्य एजेण्डा पार्टी एकीकरणपछिको एक वर्षबारे समीक्षा गर्ने रहेको स्रोतले बतायो । तर, बैठकअगावै विवाद देखिएपछि यसबारे किशोर थापाले प्रस्तुत गर्ने प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ ।

उज्वल थापाको स्कुलिङमा हुर्किएको पुरानो विवेकशील समूहका कार्यकर्ताहरुको कार्यशैली समस्याका रुपमा सतहमा आएको पूर्वसाझा पार्टीतर्फका नेताहरुको बुझाइ छ

आइतबार पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘शनिवार बानेश्वरमा प्रदेश नं ३ को ६ वटा जिल्लाका संयोजकहरूको घोषणा कार्यक्रममा केही व्यक्तिहरूबाट भएको हुलदङ्गाप्रति हामी अत्यन्तै दुःखी छौँ । सो हुलदङ्गामा संलग्न कतिपय पार्टीको सदस्य नै नरहेको र घुसपैठ समेत भएको हामीले प्रारम्भिक सूचना पाएका छौं ।’

प्रवक्ता आचार्यले अगाडि भनेका छन्– ‘हुलदङ्गा र त्यसमा संलग्नहरूका बारे सूक्ष्म छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउन शनिबार नै बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले न्याय तथा सुशासन आयोगलाई सिफारिस गरिसकेको छ । यस विषयमा हामी तपाईँको धैर्यको अपेक्षा गर्दछौँ ।’

आचार्यको विज्ञप्तिमा भनिएको छ– ‘हामी हाम्रा शुभेच्छुक र सदस्यहरूको व्यवहारिक र जायज आवाज तथा आलोचनाको सधैँ सम्मान गर्नेछौँ । तर, अभद्र व्यवहार स्वीकार्य हुने छैन । पार्टी निर्माणको क्रममा आएका प्रतिकूलताहरू हामी चिर्दै जाने नै छौँ ।’

विवादको चुरोः पदीय लफडा

विवेकशील साझा पार्टीको विवादको मुख्य चुरो हो– ललितपुर जिल्लाको संयोजक र प्रदेश १ को संयोजक चयन । जिल्ला संयोजक र प्रदेश संयोजक चयन गर्दा कार्यकर्ताहरुले सिफारिस गरेको व्यक्तिलाई नभई माथिबाट लादिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । तर, पार्टीको नीति अनुसार नै ती पदहरुमा मनोनयन गरिएको केन्द्रीय नेताहरुको जिकिर छ ।

जस्तो– प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमाथि कमेन्ट गर्दै विकास अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘विज्ञप्तिमा पनि दम्भ ? प्रदेश १ को संयोजकका लागि १४ वटै जिल्लाका सक्रिय साथीहरूले सिफारिस गरेर केन्द्रमा पठाएको मान्छेलाई पठाउने कि कुनै योगदान नभएको व्यक्तिलाई टप्प टिपेर ल्याएर राख्ने ? अनि ४० वर्षमुनिका युवालाई जिल्ला संयोजक राखिएको छ भनेर झारा टार्ने कुरा भएन र ? सम्बन्धित जिल्लाका साथीहरूको राय के छ ? प्रस्तावित व्यक्तिहरूको योगदान के छ ? विज्ञहरू समावेश भएको संयोजन समितिमा दिमागचाहिँ चलाउन पर्दैन र ?’

कार्यकर्ताहरुको असन्तुष्टिबारे प्रवक्ता आचार्यले विज्ञप्तिमा भनेका छन्– ‘कतिपय साथीहरूले प्रदेश संयोजक र जिल्ला संयोजकहरू कसरी चयन हुँदैछन् भन्नेबारेमा जिज्ञासा राखेको देखिएको छ । हाम्रो एकीकरण सम्झौतापत्रले प्रदेश संयोजक पार्टीको संयोजन समितिलाई केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरी तोक्ने जिम्मा दिएको छ र अहिलेसम्म हामीले त्यसै गर्दै आएका छौँ ।’

त्यसैगरी डा. आचार्य अगाडि भन्छन्– ‘केन्द्रीय समितिबाट पारित गरिएको हाम्रो सङ्गठन निर्माण दस्तावेजले जिल्ला संयोजक तोक्ने जिम्मा सङ्गठन विभागसँगको समन्वयमा प्रदेश संयोजकलाई दिएको छ । र, अहिलेसम्म हामीले त्यसै गर्दै आएका छौँ । हालको अवस्थामा हाम्रा संरचनाहरू अत्यन्तै न्यून रहेकाले हामीले नेतृत्व निर्माणको उक्त शैली अवलम्वन गरेका हौं ।’

पार्टीभित्र युवाहरुले ठाउँ नपाएको भन्ने विवाद देखा परेको स्वीकार गर्दै प्रवक्ता आचार्यले विज्ञप्तिमा भनेका छन्– ‘कतिपय साथीहरूले युवा नेतृत्वलाई हामीले ध्यान नदिएको भन्ने विषय पनि उठाउनुभएको छ । तर, हिजो चयन भएका ६ जना जिल्ला संयोजकहरूमध्ये तीनजना ४० वर्ष मुनिका र ३ जना ४५ वर्षको हाराहीका हुनुहुन्छ । त्यसै गरी प्रदेश नं ३ की संयोजक समीक्षा बास्कोटा ३४ वर्षकी हुनुहुन्छ ।’

प्रवक्ता आचार्यका अनुसार नेतृत्व चयनको प्रकृयाबारे घटनाको अघिल्लो दिन अर्थात शनिबार नै पार्टीका एकजना संयोजक रविन्द्र मिश्र र केही केन्द्रीय नेताहरूले केहीे असन्तुष्ट सदस्यहरूसँग भेटेर कुराकानी गरिसकेका थिए । तर, आइतबार तीमध्येका केही व्यक्तिहरु हुलदंगामा संलग्न भए । त्यस्तो हुलदंगामा संलग्नहरुमध्ये केही चाहिँ पार्टी सदस्य नै नरहेको र घुसपैठिया रहेको दाबी आचार्यको विज्ञप्तिमा गरिएको छ ।

पूर्वगुटबाटै आएको समस्या

शनिबार हुलदंगा गर्ने समूहमा भने विगतमा विवेकशीलबाट कारवाही गरिएका केही व्यीक्रहरु सक्रिय रहेको र केही चाहिँ पार्टी बाहिरका व्यक्तिसमेत रहेको नेताहरुले बताएका छन् । एक नेताले अनलाइनखबरसँग भने– ‘पार्टी एकता नभई विवेकशीलमै भएको विवाद यहाँसम्म आइपुगेको हो । ललितपुरमा संयोज बन्न नपाएका असन्तुष्ट एक व्यक्तिले युवाहरुलाई भड्काएको पाइएको छ । यसरी हुलदंगा गर्नेमा गत चुनावमा नारायणकाजी श्रेष्ठलाई गोरखामा भोट माग्ने हिँड्ने व्यक्तिको समेत संलग्नता देखिएको छ ।’

पार्टी स्रोतले अनलाइनखबरसँग भन्यो– ‘विवेकशील पार्टी बन्दाखेरि केही मान्छेलाई थामिनसक्नु भएर पार्टी सदस्यबाट कारवाही गरिएको रहेछ । अहिले तिनै मान्छे आएर ललितपुरको संयोजक छान्दाखेरि हामीलाई सोधिएन भन्दै हुलदंगा गरे ।’

‘विवेकशीलमा संगठनात्मक विवेक भएन’

विवेकशील साझा पार्टीभित्र दुईवटा पूर्वगुटहरु यथावत छन्– एउटा विवेकशील र अर्को साझा गुट । पार्टीको केन्द्रीय गतिविधिमा पूर्वसाझा पार्टीका नेताहरुको प्रभाव बढी देखिन्छ– जस्तै रविन्द्र मिश्र, सूर्यराज आचार्य, किशोर थापा आदि । तर, पार्टीको आन्तरिक जीवनमा भने विवेकशील समूहका युवायुवतीहरुको प्रभाव धेरै छ । र, यसमा रञ्जु दर्शनासमेत छिन् ।

स्रोतका अनुसार रञ्जु दर्शनाले पार्टीभित्र युवाहरुको भूमिका कमजोर हुन थालेको र पुराना पार्टीहरुमा जस्तै ‘रिटायर्डवाला’हरुको हालीमुहाली हुन थालेको गुनासो आन्तरिकरुपमा गर्दै आएकी छिन् । पार्टीभित्र युवाहरुले विद्रोह गर्नुपर्ने मत रञ्जु दर्शनालगायतको रहेको स्रोत बताउँछ ।

युवाहरुले नेतृत्वलाई प्रेसर गर्नैपर्छ, अन्यथा यो पार्टी पनि युवाहरुको पार्टी हुँदैन र रिटायर्डहरुको पार्टी हुन्छ भन्ने बुझाइ रञ्जु दर्शनामा रहेको स्रोतले अनलाइनखबरलाई बतायो । यद्यपि सार्वजनिक रुपमा भने रञ्जुले पार्टीभित्र संकट देखिएता पनि यसलाई दूर गर्न सकिने विश्वास व्यक्त गरेकी छिन् । मुख्य पक्ष सबैले पाठ सिकिरहेको र सकारात्मक रुपमा अघि बढिरहेको रञ्जुको भनाइ छ ।

यति हुँदाहुँदै पनि उज्वल थापाको स्कुलिङमा हुर्किएको पुरानो विवेकशील समूहका कार्यकर्ताहरुको कार्यशैली समस्याका रुपमा सतहमा आएको पूर्वसाझा पार्टीतर्फका नेताहरुको बुझाइ छ ।

एउटा सानो प्रेस विज्ञप्ति जारी गर्दा पनि तलका सदस्यहरुलाई सोध्नुपर्छ भन्ने परम्परा पूर्वविवेकशीलका कार्यकर्तामा रहेको स्रोत बताउँछ । सहभागितामूलक लोकतन्त्र वा प्रत्यक्ष प्रजातन्त्रको कुरा गर्ने विवेकशील समूहमा संगठनात्मक पद्दतिबारे बझाइमै समस्या देखिएको एक नेताले अनलाइनखबरलाई बताए ।

स्रोतले अनलाइनखबरसँग भन्यो– ‘संगठनात्मक कार्यशैली पार्टीको डकुमेन्टमा त छ । तर, दुईवटा चिजमा समान बुझाइ देखिएनः एउटा– प्रजातन्त्रले कसरी काम गर्छ र अर्को– पार्टीभित्रको कल्चर कस्तो बनाउने ? वैकल्पिक पार्टीभित्रको कल्चर के हो ?’

विवेकशील समूहका नेता कार्यकर्ताले अभ्यास गर्न खोजेको ‘प्रत्यक्ष लोकतन्त्र’ युटोपियन समाजमा सम्भव होला, तर अब सम्भव नहुने पूर्वसाझा पार्टीका नेताहरुको तर्क छ ।

पुरानो विवेकशील समूहको नक्कल गर्ने हुँदा अहिले प्रवक्ता सूर्यराज आचार्यलाई एउटा सानो वित्रप्ति जारी गर्न पनि समस्या पर्ने गरेको एक नेताले बताए ।

उनले भने– ‘पार्टीका केन्द्रीय प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति लेखेपछि संयोजन समितिको च्याट बक्समा पठाइन्छ । ७/८ जनाले शब्द–शब्दमा फिडब्याक दिन्छन् । त्यसपछि केन्द्रीय कमिटीको च्याट बक्समा पठाउँछन् । केन्द्रीय कमिटीका सबैले फिडब्याक दिन्छन् । तर, पूर्वविवेकशील साथीहरुको अझै के माग छ भने साधारण सदस्यहरुको च्याट बक्समा पनि पठाउनुपर्छ र एप्रुभ भएपछि मात्रै विज्ञप्ति जारी गर्नुपर्छ ।’

विवेकशील साझा पार्टीका एक नेता भन्छन्– ‘पहिले उहाँहरु २ सयजति मान्छेमा त्यसो गर्न सम्भव थियो होला । तर, अहिले सम्भव छैन । प्रवक्ताले तत्कालै विज्ञप्ति जारी गर्नुपर्ने हुन सक्छ । तर, पुरानो स्कुलिङले पार्टीमा हैरानै पारेको छ । आउने मिटिङमा पार्टीभित्रको डेमोक्रेसीलाई कसरी संस्थागत गर्ने भन्नेमा हामी केही विधिहरु बनाउँछौं ।’

onlinekhhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार