
भारतको छत्तिसगढ राज्य अन्तरगत पर्ने माओवादी प्रभावित सुकमामा प्रहरीसँगको मुठभेडमा १५ माओवादी कार्यकर्ता मारिएको दाबी गरिएको छ ।
प्रहरीका अनुसार मुठभेडस्थलबाट १६ थान अत्याधुनिक हतियारपनि बरामद भएको बीबीसीले जनाएको छ । छत्तिसगढ प्रहरी दुई जना माओवादी कार्यकर्तालाई पक्राउ गर्न पनि सफल भएको छ ।
छत्तिसगढमा विशेष प्रहरी महानिर्देशक नक्सल अपरेशन डीएम अवस्थीले सोमवार बिहान सुकमाको गोलापल्ली र कोंटाको बीचमा चलाइएको माओवादी विरुद्धको अभियानका क्रममा सुरक्षाबल र माओवादी लडाकुका बीचमा मुठभेड भएको बताएका छन् ।
प्रहरीले मुठभेड स्थल आसपासका क्षेत्रमा ‘सर्च अपरेशन’ जारी राखेको छ । प्रहरीले मुठभेडमा अरु केही माओवादी कार्यकर्ता पनि मारिएका आशंका गरेको छ । उसले यो मुठभेडलाई आफ्नो ठूलो सफलता भनेको छ ।
यस घटनाबारे सशस्त्र माअाेवादीबाट कुनै प्रतिक्रिया नअाएकाे बताइएकाे छ ।।







