काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले आँफु सिङ्गापुर उड्नुअघि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । आज दिउँसो तीनबजे केन्द्रीय कार्यसमिति बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा न्यायापालिकामाथि सरकारले गरेको हस्तक्षेपका बारेमा छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। काँग्रेसले प्रधानन्यााधीशका लागि सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकार गरेको विषयलाई बैठकमा गहन रुपमा छलफल गरी आन्दोलनका एजेण्डाहरु तय गरिने स्रोतले बताएको छ।
काँग्रेसले पछिल्लो समय न्यायलयमाथि सरकारको हस्तक्षेप बढीरहेको भन्दै आएको छ । यसबारे संसदमा सशक्त आवाज उठाउने यसअघि नै निर्णय गरेको काँग्रेसले अरु थप योजना बनाउने बारेमा समेत छलफल गर्ने बताइएको छ ।
साथै पार्टीको आन्तरिक व्यवस्थापनबारे समेत महत्वपुर्ण छलफल हुने काँग्रेस नेताहरुले बताएका छन् । देउवा बुधबार झण्डै एकसाताका लागि सिंगापुर भ्रमणमा जाँदैछन् । देउवा निकट श्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका हुन् ।







