नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एक भएको ८३ दिन पुगिसक्दा पनि एउटै छानोमुनि केन्द्रीय कार्यालय सञ्चालन गर्न सकेका छैनन्। शीर्ष नेता कार्यकर्ता भेट्न कहिले धुम्बाराही त कहिले पेरिसडाँडा पुग्ने गरेका छन्।

दुवैतिरका केन्द्रीय कार्यालय समानान्तर रुपमा सञ्चालन हुँदा काममा अन्योल देखा परेको छ। दुवै कार्यलयमा पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलका आआफनै कार्यकक्ष छन्। महासचिव पौडेल बेलाबखत् दुवैतिरका कार्यालयमा पुगे पनि अध्यक्षद्वय (ओलीदाहाल) लाई भने अहिलेसम्म आआफनै पूर्ववतः पार्टी कार्यालय नै प्यारो लागिरहेको छ।

नेकपाले आन्तरिक पार्टी सर्कुलरमा धुम्बाराही कार्यालयलाई केन्द्रीय सचिवालय र पेरिसडाँडालाई केन्द्रीय विभागको कार्यालय बनाउने उल्लेख छ। तर यसरी दुवैतर्फ कार्यालय सञ्चालन गर्दा पार्टी काम प्रभावकारी नहुने मात्र होइन, पार्टीका दर्ता चलानी, लेखा प्रणालीमा समस्या आइरहेको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा कार्यरत नेकपा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बताए। ‘एउटै छानोमुनि पार्टी केन्द्रीय कार्यालय सञ्चालन नहुँदा एकताको भाव सम्प्रेषणमा समस्या देखिएकै छ,’ उपाध्यायले अन्नपूर्णसँग भने, ‘अर्काेतर्फ प्राविधिक काममा पनि उत्तिकै अप्ठायारो छ।’

धुम्बाराहीस्थित कार्यालय केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको कमाण्डमा छ भने पेरिसडाँडास्थित कार्यालय केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको। पार्टी एकताको झण्डै तीन महिना पुग्न लाग्दासम्म एकअर्काे केन्द्रीय कार्यालयका कर्मचारीबीच चिनजान समेत नदेखिएपछि महासचिव पौडेलले सोमबार परिचयात्मक कार्यक्रम राखेका थिए। ‘एकअर्काको परिचय, कामको प्रकृतिलगायतका विषयमा केन्द्रित रहेर परिचयात्मक काम सोमबार मात्र भएको छ,’ उपाध्यायले भने। धुम्बाराही कार्यालयमा नेकपाका १६ र पेरिसडाँडामा १४ जना कर्मचारी कार्यरत छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले महिनाको १ गते धुम्बाराही र १५ गते पेरिसडाँडाबाट नेताकार्यकर्ताको गुनासो सुन्ने योजना बनाएका छन्। धुम्बाराहीबाट ओलीले एकपटक त्यस्तो गुनासो सुनेर सम्बोधनसमेत गरे। तर पेरिसडाँडामा भने उनले १५ साउनको तोकिएको कार्यक्रम अन्तिम समयमा कार्यव्यस्तता देखाउँदै स्थगित गरेका थिए।

दर्ताचलानीमै ‘कोड’

नेकपाको केन्द्रीय कार्यालय नै दुईतिरबाट सञ्चालनमा रहेपछि कार्यालय व्यवस्थित बनाउन र कार्यविधि तय गर्न पार्टी केन्द्रीय सचिवालयले छुट्टै कार्यदल बनाएको छ। कार्यदलमा स्थायी समिति सदस्य विष्णु रिमाल, केन्द्रीय सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, प्रल्हाद बुढाथोकी र श्रीराम ढकाल छन्। कार्यदलको दुईपटक बैठक बसी दैनिक प्रयोगमा आइरहने ‘लेटरहेड’ छापलगायतको टुंगो लगाएको छ। ‘अहिले दुबैतिरबाट एउटै लेटरहेड प्रयोगमा आएका छन्’, केन्द्रीय सदस्य उपाध्यायले भने, ‘तर दर्ता चलानीमा भने फरकफरक कोडको प्रयोग गर्न थालिएको छ।’

उनका अनुसार, धुम्बाराहीबाट गरिने दर्ता चलानीमा ‘डि १, २..’ र पेरिसडाँडाबाट गरिने दर्ता चलानीमा ‘पि१, २,…’ को ‘कोड’ प्रयोग गर्न थालिएको छ।

  • धुम्बाराही केन्द्रीय सचिवालय
  • पेरिसडाँडा केन्द्रीय विभागको कार्यालय
  • दर्ता चलानीलेखा प्रणालीमा समस्या
  • ओलीलाई धुम्बाराही प्यारो
  • दाहाललाई पेरिसडाँडानै
  • धुम्बाराही र पेरिसडाँमा अलगअलग कर्मचारी
  • कर्मचारीको सेवा सुविधा पनि अलग अलगनै
  • नेताहरू कार्यकर्ता भेट्न धुम्बाराही र पेरिसडाँडा धाउन बाध्य

अहिलेसम्म पार्टीको एउटै खाता सञ्चालनमा आएको छैन। आम्दानी र खर्च विवरण आआफ्नै पहिलेकै स्रोतसाधान अनुसार भइरहेको छ। सोमबार केन्द्रीय कार्यालयका कर्मचारीले पार्टी एउटै भइसक्दा पनि पूर्ववत घटक पार्टीका नाममा आआफ्नै स्रोत÷साधन परिचालन हुँदा लेखा प्रणालीमा समस्या आउने महासचिव पौडेलसँग गुनासो राखेका थिए। महासचिव पौडेलले पार्टीले छिट्टै केन्द्रीय आर्थिक विभाग बनाएर एउटै खाता सञ्चालनदेखि आर्थिक काम सुरु गर्ने बताएका थिए।

सुविधामा असमानता

पार्टी एकतापछि पनि फरक कार्यालयमा बसेर समान प्रकृतिको काम गर्ने कर्मचारीका सेवा सुविधा भने समान छैन। अझै पनि पूर्वघटकहरूले विगतकै सेवा सुविधामा कर्मचारीलाई काममा लगाइरहेका छन्। धुम्बाराहीमा कार्यरत कर्मचारीले पाउने तलबबाट निश्चित रकम कट्टा गरी सोही बराबर पार्टीले थप गरेर सामाजिक सुरक्षाको बन्दोबस्ती मिलाएको छ। पेरिसडाँडामा कार्यरत कर्मचारीमा त्यस्तो सेवा सुविधा छैन। नेकपाले केन्द्रीय कार्यालयका कर्मचारीको सेवाशर्तसम्बन्धी छुट्टै विनियम बनाएर लागू गर्ने पार्टी नियमावलीमा समेटेको छ। नेकपाको पूर्वघटक एमालेको तर्फ ०४९ सालदेखि केन्द्रीय कार्यालयमै काम गरेका कर्मचारी छन्। उनीहरूले काम छाडेर जाँदा अतिरिक्त रकम पाउँछन्। नेकपा नेता कृष्ण गोपाल श्रेष्ठ छिट्टै पार्टीले विनियम बनाएर केन्द्रीय कार्यालयका कर्मचारीको सेवाशर्तसम्बन्धी व्यवस्था गर्ने बताउँछन्।

‘सबै काम भइरहेका छन्, विस्तारै आर्थिक विभाग, विनियम बनेपछि व्यवस्थित भएर जानेछ,’ उनले भने।

नेताकहाँ चिठी पु¥याउँछन कर्मचारी

नेकपाको पूर्वघटक एमालेतिरका नेताका घरसम्म चिठीपत्र पु¥याउने हुलाकी कर्मचारी पनि छन्। केन्द्रीय कार्यालयमा आएका चिठीपत्र पु¥याउने र अघिपछि केन्द्रीय कार्यालयको सोधपुछ कक्षमा रहने गरी एकजना कर्मचारी नियुक्त गरिएका छन्। ‘उहाँहरू (पूर्वएमाले) सँग केन्द्र्रीय कार्यालयमा आएका चिठीपत्र नेताको घरसम्मै पु¥याउने गरी हुलाकीसम्म पनि राखिएको रहेछ,’ नेकपा केन्द्रीय सदस्य उपाध्यायले भने।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सरकारमा नरहँदा आफ्नो स्वकीय सचिवालय निजी व्यवस्थापनमा राख्दै आए पनि अर्का अध्यक्ष दाहालको सचिवालयमा भने पेरिसडाँडाबाटै कर्मचारी खटाइएको छ। अहिले पनि केन्द्रीय कार्यालयबाट तलब लिने गरी दाहालको सचिवालयमा ६ जना नेता कर्मचारीका रुपमा छन्।

अन्नपूर्णमा प्रकाशित अधिकारीकाे रिपाेर्टकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार