ललितपुर, २२ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं १ को नाम ‘किरात प्रदेश’ नै रहने बताएका छन् । किरात शब्द इतिहास, सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिएको उल्लेख गर्दै प्रचण्डले प्रदेश नम्बर एकको नाम ‘किरात प्रदेश’ रहने यसमा आफू र प्रधानमन्त्री केपी शर्मा ओलीको सोच मिलेको बताए ।
‘प्रदेश नम्बर एकको नाम किरात नै रहन्छ, कथंकदाचित नभए म चहिँ लडिरहनेछु’
किरात राईहरुको संस्था किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली पनि किरातलाई सभ्यता र इतिहासको रुपमा स्वीकार गर्न तयार भएको बताए । भने, ‘अहिले १ नम्बर प्रदेशको नाम किरात नै रहनु पर्दछ भन्ने कुरामा गम्भिर रुपले छलफल गरिरहेका छौं । किरातको कुरा गर्दा यदि हामीले जातीवादको कुरा ल्यायौ भने त्यो भन्दा ठूलो भुल अरु हुनै सक्दैन,’ प्रचण्डले भने, ‘किरातलाई एउटा इतिहास, सभ्यता र हाम्रो जीवनप्रणालीको रुपमा हामीले स्वीकार गर्दा त्यसको सन्देश देशभरि जान्छ, इतिहासभरी छरिन्छ र भविष्यमा पनि एउटा ठूलो सन्देश हुनेछ । यसमा प्रधानमन्त्रीजी र मेरो सोच मिलेको महसुश गरेको छु ।’
प्रचण्डले प्रदेश नम्बर एकको राजधानी रहने यदि कथंकदाचित् नभए आफू चहिँ किरात प्रदेशको लागि लडिरहने बताए । भने, ‘यो खाली किरातीको मात्रै सभ्यताको कुरा होइन, यो सिंगो नेपालको पनि सभ्यतासँग जोडिएको कुरा भएकोले पनि यसको विशिष्ट अर्थ र महत्व छ । त्यसलै किरात प्रदेश नै हुन्छ । कथंकदाचित् यदि कसैले किरातको अपव्याख्या, अपमान गरे म तपाईंहरुको साथमा रहेर लडिरहनेछु ।’
प्रचण्डले प्रदेश नं १ को नाम किरात राख्ने विषयमा कसैले यदि त्यसलाई जातिवाद भने भने त्यो भन्दा मुर्ख मानिस कोही नहुने तर्क समेत गरे । भने, ‘बाइसे, चौबिसे राज्य नामेट पार्न सफल पृथ्वीनारायण शाह त ओल्लो किरात, माझकिरात र पल्लो किरातलाई मान्न बाध्य भए भने हामी कम्युनिस्टले नेपाली सभ्यतासित जोडिएका किरातलाई कदापि मेट्ने छैनौं ।’
कार्यक्रममा विद्यावारिधि गरेका डा मन्दिप राई, यस वर्ष सगरमाथाको सफल आरोहण गरेका गजुरमान राई र किरात राई समुदायबाट पहिलो पाइलट भएकी सृष्टि राईलाई सम्मान गरिएको थियो । यसैगरी पत्रकार जनकऋषि राई र रिता राराहाङ राईलाई पनि सम्मानित भए ।nayapage बाट
https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=15s







