अाफ्नाे पार्टी नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्माकाे गिरफ्तारपछि महासचिव विप्लवले कडा रूपमा भर्त्सना गर्दै तत्काल रिहा गर्न अाेली सरकारलार्इ चेतावनी दिएका छन् ।

अाेली सरकारले नेकपाका प्रवक्ता प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट गिरफ्तार गरेको भन्दै महासचिव विप्लवले तुरून्त रिहा नगरे कडा रूपमा प्रतिराेध उत्रन पार्टी पंक्तिलार्इ निर्देशन समेत दिएका छन् ।

नेकपाले प्रवक्ता प्रकाण्डसहित तीनैजनाको गिरफ्तारीको भत्र्सना गर्दै प्रतिरोधात्मक सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्नुका साथै यही साउन २९ गते मङ्गलबार नेपाल बन्दकाे घोषणा समेत गरेको छ ।

नेकपाका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै दमनले प्रतिरोध जन्माउने र त्यसले दमनकारी शासकहरूको अन्त्य गर्ने पनि जनाएका छन् । पार्टी प्रवक्ताको गिरफ्तारीपछि अविचलित रही आआफ्नो जिम्मेवारीमा डटिरहन महासचिव विप्लवले सबै नेता र कार्यकर्ताहरूलाई आह्वान समेत गरेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

हिजो बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ । सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ ।

अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ । हाम्रो पार्टी नेपाली जनताको अपूरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको छ । हाम्रो पार्टी यो अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने दुःस्वप्न नदेख्न चेतावनी दिन चाहन्छ । इतिहासले पुष्टि गरेको सत्य के हो भने दमनले प्रतिरोध जन्माउँछ र जनतामाथि लूट मच्चाउनेहरूको स्वर्ग ध्वस्त हुन्छ । दमनले भीषण सङ्घर्ष निम्त्याउँछ ।

दमनको बाटो भनेको पराजयको बाटो हो भन्ने यो सरकारले बुझिराखे हुन्छ । यो दमनले हामी एकरत्ति पनि विचलित भएका छैनौँ । सबै कमरेड, समर्थक र शुभचिन्तकलाई आफ्नो क्षेत्रमा डटिरहन अनुरोध गरिन्छ । त्यसैले तुरुन्तै प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार