झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा रहेका केहि सडकहरु निर्माण कम्पनीको लापरवाहीका कारण निर्धारित मितिमा सम्पन्न हुन सकेका छैनन् । सम्झौता अनुसार निर्धारित समयमा काम नहुनुका साथै निर्माण कार्य गुणस्तरहीन र मनोमानी ढंगले भईरहेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

प्रधानमनमन्त्री केपी शर्मा ओली आफ्नो गृहनगर दमक आएका बेला निजी निवास जाँदा दिपिनी मार्ग हुँदै जान्छन् । यति मात्र नभई दमकका नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले कार्यालय र घर आउजाउ गर्ने सडक पनि यहि हो । तर यहि सडकको अवस्था भने दयनीय बनेको छ । श्री जयबाबा शेर्पा जेभीले गरिरहेको निर्माण कार्य ठेक्का सम्झौता मिति सम्पन्न भै सक्दा पनि यो सडकको काम भने ५० प्रतिशत पनि सम्पन्न भएको छैन । स्थानीय बासिन्दाले यो सडकको निर्माण कार्य लापरबाही ढंगले भइरहेको आरोप लगाएका छन् ।

सोलार लाइट, फुटपाथ, ढलनाला र सडक निर्माण सहित गत बर्ष साउन २२ गते उक्त मार्ग निर्माणको ठेक्का लागेको थियो । स्थानीयको एक करोडसहित चार करोड सात लाख ५१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भइ यही असार मसान्त सम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि निर्माण कार्य आधा पनि सकिएको छैन ।
श्री जयबाबा शेर्पा जेभीले दमक नगरपालिका भित्रकै बेलडाँगी रोड र अन्य भित्री सडकको समेत निर्माण र स्तरोन्नतिको ठेक्का पाएको छ । तर यस निर्माण कम्पनीले दमकका सडकहरुको ठेक्का लिएको भए पनि कुनैपनि सडक समयमा सम्पन्न गर्न सकेको छैन । तर पनि स्थानीय सरकार अर्थात दमक नगरपालिका यसरी सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई दबाव दिएर काम लगाउनु सट्टा उल्टै म्याद थपेर ठेकेदारको पक्षपोषण गरिरहेको छ ।

निर्माण कार्यमा लापरवाही गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुको संरक्षणका कारण कतिपय निर्माण कम्पनीहरुले निर्माण कार्यमा मनपरी गर्ने गरेका छन् । निर्धारित समयमा काम सम्पन्न गर्न दबाब दिने हो भने निर्धारित समयमा गुणस्तरीय निर्माण कार्य हुनेमा दुई मत छैन ।







