भारतले निर्माण गरेको रेल जयनगर जनकपुर रेलमार्गमा ‘परीक्षण रेल’ गुड्न थाल्याे ! जयनगर-जनकपुर रेलमार्गमा परीक्षणका रुपमा रेल गुडाउन सुरु गरिएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेजले रेलमार्ग निर्माणकाे काम सक्नै लाग्दा परीक्षणका रुपमा रेल सञ्चालन सुरु गरिएकाे हाे ।

जयनगरदेखि-खजुरीसम्मकाे करिव ९ किलोमिटर रेलमार्ग खण्डमा बुधबार परीक्षणका लागि रेल गुडाएकाे रेल विभागले जानकारी दिएकाे छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले आज (बिहीबार) थप १० किमी खण्डमा रेल गुडाएर परीक्षण थाल्ने जानकारी दिए । हाल पहिलाे चरणकाे परीक्षण सञ्चालन मात्रै भइरहेकाे जनाउँदै उनले सबै खण्डको परीक्षण गरिसकेर चाँडै नै नियमित रुपमा रेल सञ्चालन गर्ने बताए ।

पूर्ण रुपमा रेल सञ्चालन हुन भने अझै चारपाँच महिना लाग्ने देखिएकाे छ । जनकपुर-जयनगर रेलमार्गकाे लम्बाइ ३५ किलोमिटर रहेकाे छ । यही सालकाे पुस महिनाबाट यस मार्गमा पूर्ण रुपमा रेल सञ्चालन गर्ने रेल विभागको तयारी रहेकाे छ।

नियमित रेल गुडाउनका नेपालमा चालक नरहेकाे भन्दै भारतबाट चालक र ब्राेडगेज रेल भाडामा लिएर सञ्चालन गर्ने रेल विभागकाे तयारी छ । जनकपुर-जयनगर निर्माणाधीन रेलमार्ग ब्रोडगेज प्रविधिकाे हाे, जुन भारतमा चल्तीमा रहेकाे छ । भारतकै १० अर्ब रुपैयाँ सहयोगमा यस रेलमार्गकाे निर्मांण सुरु भएकाे थियाे ।

पुरानै रेलमार्गमा नयाँ लिक बिछ्याएर रेलमार्ग तयार गरिँदै छ । यसमा १० वटा डब्बा तान्ने इन्जिन सहितको रेल लिजमा लिन लागिएको विभागले जनाएको छ। सन् २०१४ बाट याे रेलमार्ग विस्तारकाे काम सुरु भएको थियो, जसका कारण विगत ४ वर्षयता जनकपुर-जयनगर रेल सेवा बन्द छ ।

https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=61s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार