गत तीन दिन देखि एउटै व्यक्तिको खर्चमा गुल्मीको सदरमुकाम तम्घासमा भव्य रुपमा ब्याडमिन्टन प्रतियोगिता भई रहेको छ । शनिवार विहान समापन हुने उक्त प्रतियोगितमा छिमेकी जिल्ला र बुटवल, पोखरा र काठमाडौंसम्मका त्यस खेलप्रेमी र प्रतियोगिहरुको सहभागिता रहेको छ ।
त्यस प्रतियोगिताको पुरै खर्च ब्यहोर्ने ती एउटै व्यक्ति हुन् नेपाली सेना वीरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमत कार्की । नेपाली सेनाको खेलाडी पृष्ठभुमीबाट प्रवेश गरेका कार्की यहाँ आएदेखि विभिन्न खेलमा समेत व्यक्तिगत सहयोग गर्दै आएका छन् ।
जिल्ला भित्र होस वा बाहिर प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई खेल सामग्री र प्रोत्साहन दिने गरेका छन । रेसुङ्गा नगरपालिका वडा नम्वर–४ सेउवा निम्न माध्यामिक विद्यालयमा अपाङ्ग मैत्री शौचालय व्यक्तिगत खर्चमै निर्माण गरिदिएका छन् । रुरु गाउँपालिका वडा नम्वर ४ को वम्घामा उनले त्यहाँका पुरै विद्यार्थीहरुलाई कापि कलम, खेल सामग्री आफै पुगेर वितरण गरे ।
जहाँ उनले एक दिने शिविर राखेर त्यहाँ विद्यार्थी र उनका अभिभावकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराई दिए । त्यहाँका सबै भन्दा विपन्न विद्यार्थी छानेर उनले ती विद्यार्थीको अभिभावक बन्दै उच्च शिक्षासम्म आफ्नै खर्चले अध्यान गराई दिने घोषणा गरेका छन् ।
हरि स्मृति प्रावि यसरी नामकरण गरिएको थियो । स्थानीय हरि कंडेललाई नेपाली सेनाले वीरवासमा घेराउ गरी मारेको थियो । त्यसै विद्यालयमा संयोगवस त्यस्तो कार्यक्रम लिएर पुगेका सेनानी कार्कीलाई त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौड्याल र अन्य बक्ताहरुले सेना आफैले लगाएको घाउँमा आफै मलमपट्टी लगाई दियो भनेर प्रशंसा गरेका थिए ।
को कहाँ असहाय छ ? को विपद्मा परेको छ ? उनले सञ्चारकर्मी र अन्य सरोकारवालालाई सोध्दै सहयोग गर्छन । यस्ता अनगिन्ती सहयोग उल्लेख गरी साध्य छैन । तम्घासमा युवा समाज सेवी रमेशजंग कुँवर भन्छन् –‘हुन त यस अघिदेखि नै जिल्लाको धार्मिक क्षेत्र संरक्षण, खेलकुद विकासमा नेपाली सेनाको अतुलनिय योगदान रहँदै आएको छ । तर व्यक्तिगत रुपमा अहिलेका मेजर साबको यति ठुलो योगदान विगतमा सायद विरलै भए होलान् ।’
उनको ठम्याई छ सामाजिक क्षेत्रमा उहाँको त्यो खर्च उहाँको मासिक तलब भन्दा बढी होला । व्याडमिन्टन संघका अध्यक्ष महेश काउछा भन्छन् ‘पछिल्लो यस ब्याडमिन्टन खेललाई मात्र होईन उहाँले हरेक खेलमा ब्यक्तिगत सहयोग गर्दै आउनु भएको छ । उहाँको तलव भन्दा बढि सामाजिक क्षेत्र मै खर्च गरेको स्पष्ट हुन्छ ।’
उनी कुनै समय पोखराका चर्चित समाज सेवी अमरसिंह चोकका स्वर्गिय डम्वरबहादुर कार्कीका छोरा हुन् । पोखरा नगरपालिकामा १५ वर्षसम्म प्रधानपञ्च रहेका र पछि पोखरा कै मेयर रहेका कार्कीको तिन वर्ष अघि निधन भएको थियो । उनै पिता कार्कीको स्मृतिमा उनले करिब ३ लाख रुपैयाँ व्यक्तिगत खर्च ब्यहोरेर ब्याडमिन्टन खेलको खेलाएका हुन् ।
उनले दाजुहरु मनोज कार्की, रामराजा कार्की र आफुलाई त्यस खेलको आयोजक बनाएका छन् । सेनानी कार्कीको यस्तो योगदान प्रति यहाँका समाजसेवीहरु च्कित र हर्षित छन् ।
कार्की भन्छन्, ‘म मेरो नाम राख्नका लागि होईन । सामाजिक उत्तरदायित्वमा नेपाली सेनाको मन र नाम देखाउन चाहन्छु । हरेक नेपाली सेनाको दिल दिमागमा राष्ट्रको रक्षा जति गडेको हुन्छ त्यस्तै सामाजिक क्षेत्रमा पनि केहि गरेर देखाउँ भन्ने भावना जागृति हुन्छ । यस्तो म एउटा अधिकृत मात्रको होईन । हरेक अधिकृत देखि जवान सम्मको हुन्छ । त्यसैको एउटा प्रतिनिधि मुलक पात्र मात्रै हुँ म ।’
उनले यहाँ गुल्मपति सम्हाल्नुजेल आफ्नो पुरै तलब सामाजिक क्षेत्र मै खर्चिने उद्घोष गर्दै आएका छन् । उनले थपे, ‘हामी नेपालीहरु मध्ये कोही भोकै मर्न नपरोस् । उपचार गर्न नसकेर, शिक्षा नपाएर बस्न नपरोस् । यस्ता कुरामा मेरो चसो र चिन्ता छ । त्यस्ता कोही भएमा खबर पाउँ ।’







