मुगु । गाउँकै खोलाबाट जलविद्युत उत्पादन हुन्छ भन्दा फुरुङ बनेका मुगुको माग्रीगाउँका स्थानीयहरु यतिबेला खिन्न छन् । कारण १७ बर्षअघि निर्माण शुरु भएको २५ किलोवाट क्षमताको च्याप्नेगाढ लघु जलबिद्युत आयोजना अहिलेसम्म पनि बन्न सकेको छैन् । ठेकेदार कम्पनीले आयोजना निर्माण सकियो भन्दै गलत रिपोर्ट पेश गरेर रकम नै सिध्याइदिएपछि विद्युतको आशमा बसेका उनिहरु थप चिन्तित भएका छन् ।
मुगुस्थित माग्रीगाउँका स्थानीयहरु उज्यालोको पर्खाइमा बसेको पनि १७ बर्ष पूरा भइसकेको छ । जिल्लाको माग्रीगाउँसँगै आसपासका बस्तीहरुमा विद्युत सेवा पु¥याउने उद्धेश्यले २०५८ सालमा च्याप्नेगाढ लघु जलबिद्युत आयोजना निर्माण गर्ने भनिएपनि हालसम्म काम हुन सकेको छैन् । जडित क्षमता २५ किलोवाट रहेको च्याप्नेगाढ लघु जलबिद्युत आयोजनाको १७ बर्षको अवधिमा १० प्रतिशतमात्रै प्रगति भएको छ ।
१७ बर्षदेखि विद्युतको आशमा बसेका माग्री र महगाउँका स्थानीयहरु कहिले जलविद्युत आयोजना बन्छ र उज्यालोमा बस्न पाइएला भनेर बाटो हेरिरहेका छन् । तर आयोजना निर्माणको ठेक्का पाएको राधा कन्स्ट्रक्सनले आयोजना निर्माण सम्पन्न भई गाउँमा झिलिमिली बत्ति बलिसकेको रिपोर्ट तत्कालीन जिल्ला विकास समितिमा बुझाइसकेको छ ।
उक्त रिपोर्ट जिविस अन्तर्गतको दुर्गम बिकास क्षेत्रले पास गरिसकेको छ । जिल्लाको समग्र विकासको जिम्मा लिएको जिविसका कर्मचारीहरु कार्यस्थलमै नपुगी ठेकेदारको गलत रिपोर्टलाई पास गर्नु ठेकेदार र कर्मचारीबीच मिलेमतो भएको प्रष्ट देखिएको छ ।
समयमा आयोजना सकिए नसकिएको अध्ययन गर्ने जिम्मा जिविससँग भएपनि उल्टै जिविसले आयोजना स्थलमै नपुगी ठेकेदारको रिपोर्ट पास गरिदिएको छ । आयोजना बन्ने भएपछि दाताले बाँड्दै आएको सोलार लिनबाट पनि स्थानीयहरु बञ्चित भएका छन् । उनिहरु भन्छन्, सरकार हामी कहिलेसम्म अध्याँरोमा बस्ने ?







