काठमाडौं – आफूमाथि आक्रमणको प्रयास भएको भनेर संसदमा चर्काे श्वरमा बोलेकी नेकपाकी सांसद निरु पालको घटनाका विषयमा प्रहरीले छानविन गर्दा सांसद पालमाथि नै प्रश्न खडा भयो ।
युवालाई ठगेको घटनाबाट बच्न आक्रमणको नाटक रचेको निष्कर्षमा प्रहरी पुगेपछि सांसद पालले भनेकै आधारमा निष्कर्ष निक्लिने कुरा भएन । सांसद पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बा भन्दै आफू प्रधानमन्त्रीकी छोरीको रुपमा परिचित हुन चाहन्छिन् ।
‘ठगका हजार दाउ’ भन्ने त नेपालीमा उखानै छ । त्यही उखानलाई चरितार्थ गरिरहेकी छिन् प्रधानमन्त्री ओलीकी ‘छोरी’ सांसद निरु पालले ।
विदेश पठाइदिने भन्दै युवाहरुबाट लिएको लाखौं रुपैयाँ फिर्ता गर्न नमान्ने अनि उल्टै खप्की दिएर पठाउने बानी परेकी पाललाई अपराध गरेपछि अप्ठ्यारोमा पर्न सकिन्छ भन्ने लागेपछि चाल गरेर आफ्नो सुरक्षा बढाइन् । अर्काको ठगेर खाने बानी परेकी पाललाई उत्तम समय भने प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको संसदीय सुनुवाई विशेष समितिमा सुनुवाई चल्दाचल्दैको समय पर्यो ।
यो समयमा ठूलो चलखेल हुन्छ र कोही दबाब दिन पनि आउँछन् भन्ने लागेर उनले आफूलाई ज्यान मार्ने धम्की आयो भन्दै घटना बनाइन् । घटनाअनुसार उनलाई उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेस पछाडि साउन १५ गते राति साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आएर धम्की दिन्छन् ।
उनीहरुले पाललाई दीपकराज जोशी संसदीय सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल ताक्छन् । अनि धम्की दिने क्रममा जोशी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भनेर जान्छन् । सो क्रममा पालको आइफोन पनि लुटिन्छ ।
त्यसपछि उनका ‘बा’ ओलीले उनको सुरक्षा बढाउँछन् । पाललाई सरकारी तहबाटै सुरक्षा गार्ड प्रदान गरिएको छ । यति भएपछि कुनै बाहिरी मान्छे पालको अगाडि पर्नुअघि सुरक्षा गार्डसँग जुध्नुपर्ने हुन्छ ।
यसरी ठगीको पैसा दिनबाट बच्चका लागि उनले सुरक्षा गार्ड राखेकी छिन् । ओलीलाई अगाडि राखेर राजनीति गर्ने बानी परेकी पालको सुरक्षामा कुनै कमी नहोस् भनेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि गम्भीर भए । अफिसरहरुलाई थर्काए ।
धम्की दिने समूह पक्राउ गर्न भने । प्रहरीले पनि भएजतिका टोले गुन्डासमेतलाई उठायो । केही सिप लागेन । प्रहरीले घटनाको सुराकीसमेत पाउन सकेन । नेपाल प्रहरीलाई अनुसन्धानमा विश्वकै अब्बल गनिन्छ । तर पाल धम्कीका अभियुक्तलाई फेला पार्न सकेन ।
प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन टोली पनि बनाएको छ । तर, केही पत्ता लागेको छैन । प्रहरीभित्रै कसैले धम्की दिएको भए पो अपराधी पत्ता लाग्नु त भन्ने प्रश्नसमेत उब्जिएको छ ।
उनको लुटिएको भनिएको आइफोन मोबाइल प्रहरीको लोकेशनबाट पत्ता लगाउन खोजियो । तर त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म उनकै कोठातिर चलेको देखिएको प्रहरी स्रोतको दावी छ ।
पालले जब अर्को दिन संसदमै कुरो उठाइन् तब लुटियो भनिएको मोबाइलसमेत स्वीचअफ गरिन्छ। यो जिज्ञासा प्रहरीले बुझ्न सकेको छैन। कतै निरु पालनै फस्ने त होइनन् । उनले भयो भनिएको घटनामा कुनै पनि प्रत्यक्षदर्शी छैनन् । दोषी पनि भेटिएका छैनन् ।
पालको झुठको ड्रामा पहिलो हैन
निरु पालको झुठको ड्रामा यसअघि पनि फेला परेको हो । केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा यिनै पाल प्रधानमन्त्रीको सचिवालयकी सदस्य थिइन् ।
उनी कुर्सीमा पुग्नका लागि झुठो बोल्ने घटना नौलो नभएको उनी निकट एक नेतृले बताइन् । उनले भनिन्, ‘निरुजी नाटक गर्न माहिर हुनुहुन्छ ।’
उनले झुठो बोलेरै उमेर ढाँटेर युवा संघ सम्हालिन् । उनले झुठो बोल्ने क्रममै मदन भण्डारीसंग विशेष सम्बाद भएको समेत बताएकी थिइन् । त्यसपछि उनको ब्यापक आलोचना भएको थियो ।
ठगी गर्ने अनि पैसा फिर्ता दिनुपर्यो भने अनेक तरहका आरोप लगाउने र सुरक्षा अपनाउने निरु पाललाई बचाउने केपी शर्मा ओलीले किन आफ्नो साखलाई अप्ठेरामा पारे उनै जानून् ।
प्रधानमन्त्रीले यसरी जोगाए
निरु पाल प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री हुँदाकी बालुवाटार सचिवालय सदस्य हुन् । फेरि सबैभन्दा ठूलो कुरा उनी काँग्रेस पृष्ठभूमिकी हुन् । आयातित सामानलाई बढी नै माया गर्ने नेपाली चलन छ । ओली पनि त्यस्तो प्रवृत्तिलाई संरक्षण गर्न माहिर भएकाले पनि निरु उनको नजिक रहन सफल भइन् ।
निरुको भित्री बिजनेश उनले थाहा नपाए पनि अगाडि नै सबैलाई ‘बा’ भनेर सम्वोधन गरिएपछि छोरी जस्तीसुकै भए पनि हेरचाह गर्नैपर्ने । त्यसैगरी गरे ओलीले उनलाई बचाए ।
उनले पीएसओ पाउने सन्दर्भमा पनि ओलीले बोलेपछि पुग्यो । उच्च प्रहरी स्रोत भन्छ, ‘प्रधानमन्त्री ज्यूको नजिकको भनेपछि हामी पनि सतर्क हुन कर लाग्यो ।’
निरु जुनसुकै गोलचक्करमा लागे पनि ओलीले बचाउँदै आएको समेत स्रोत बताउँछ । अहिले पनि ओलीले निकै चातुर्यपूर्वक निरुलाई बचाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीभित्रै असन्तुष्टिका स्वरहरु गुन्जन थालेका छन् । तिनै निरु ओली क्याम्पमा भित्रिएपछि तत्कालीन एमालेका केही शीर्ष नेताहरू टाढिएको बताइन्छ ।
पार्टी र शीर्ष नेतृत्वलाई बद्नाम गर्दै हिँडेपनि प्रधानमन्त्री ओलीले निरु पाललाई बचाएर राखेका छन् । प्रधानमन्त्रीको आडभरोसा नभएको भए सांसद निरु पालमाथि संसद र प्रहरीलाई झुक्याएको, झुटा बाहना बनाएको आरोपमा उल्टै छानविन हुनुपर्ने हो ।mediadabali.com बाट







