प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाहरूले दायित्व भुलेर जथाभावी गरेको आरोप लगाएका छन्।
नेपाल मिडिया सोसाइटीका नवनिर्वाचित पदाधिकारीहरूसँग प्रधानमन्त्री ओलीले मिडियाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा भनिएको छ, ‘केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो।’
ओलीले मिडियाले अहिले लेखेका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्ने टिप्पणी गरे।
‘नेकपा लोकतन्त्रको जन्मदाता हो। यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा मिडियाले पनि बुझ्न पर्दछ।’
भेटमा मिडिया सोसाइटीका पदाधिकारीहरूले मिडियाको काम नै सरकारको खबरदारी भएको जवाफ दिएका थिए।
‘सत्यतथ्य जनसमक्ष ल्याउने नै हाम्रो काम हो भन्यौंֹ’, भेटमा सहभागी मिडिया सोसाइटीका प्रतिनिधि भुषण दाहालले सेतोपाटीसँग भने, ‘हाम्रो तर्फबाट सही सूचना सम्प्रेषण नभएको अनुभव हो भने रिजिभिट गर्न सक्छौं। तर प्रेसको काम सरकारको कमीकमजोरी औंल्याउने नै हो भन्यौं।’
ओलीले भने मिडियाले सरकारलाई घोचपेच गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए। ‘काम गर्न खोजिरहेको सरकारलाई फरक तरिकाले घोचपेच सुरू भएको छ।
‘अधिनायकवादी किसिमको व्यवहार भएको भनेर आलोचना आइरहेको छ, त्यो होइन भनेर प्रधानमन्त्रीले भन्नुभयो’, दाहालले भने, ‘हामीले लोकतन्त्र अंगिकार गरेको होइन कि ल्याएको हो। त्यसैले हामी जुन स्पिरिटले काम गरेका छौं। हामी पनि सन्तुष्ट छैनौं। तपाईंहरूलाई पनि नलागेको हुन सक्छ। तर संकल्पमा दृढ छौं। धैर्य गरिदिनुपर्यो भन्नुभयो।’
ओलीले माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेकोप्रति विरोध जनाएका थिए।
‘माइतीघर मण्डला के आमसभा,जुलुस गर्न उपयुक्त ठाउँ हो त?’, ओलीले प्रश्न गरेका थिए, ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने?’
प्रधानमन्त्री ओलीले सरकार आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको भन्दै मिडियालाई सहयोगका लागि आग्रह गरेका थिए।
‘काम गरिराखेका छौं, आर्थिक समृद्धिमा अगाडि बढ्ने भनेका बेला बहकिएर काम नगर्दिए राम्रो हुन्छ? भन्नुभयो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भेटमा भएका कुराकानी उल्लेख गर्दै भने, ‘सरकारले कुरा मात्र होइन काम गरेर देखाउँछ भन्नुभयो।’
ओलीले अघिल्लो सरकारले मुलुकलाई ‘फेल्ड स्टेट’को अवस्थामा पुर्याएको र आफूहरूले सम्हाल खोजिरहेको बताएका थिए।
‘अलिकति हाम्रो समस्या बुझ्नुपर्छ। ‘फेल्ड स्टेट’ बनाउन थालेको थियो अघिल्लो सरकारले, योजना र बजेट नभएको अवस्थामा छाडेको थियो। भताभुंग स्थितिबाट ‘रिकभर’ गरेका छौं’, ओलीले भेटमा भने, ‘तीन महिना विदेश भ्रमण रोक्दा १५ करोड जोगिएको छ। यो कुरा मिडियाले राम्रोसँग बुझिदिए हुन्थ्यो।’







