नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई आइतबार अदालतमा उपस्थित गराउँदा पत्रकारसँग बोल्न समेत बन्देज लगाइयो ।

प्रकाण्डलाई म्याद थपको लागि टेकु प्रहरीले काठमाडौं जिल्ला अदालतमा ल्याउँदै गरेको खबर पाएर दर्जनौं पत्रकार अदालत परिसरमा जम्मा भइसकेका थिए । उनीहरुको एउटै उद्देश्य थियो प्रकाण्डसँग उनीमाथिको अभियोग र हिरासत बसाईमा भइरहेको मानव अधिकारको पालनाबारे प्रश्न गर्ने ।

तर प्रहरीले दिउँसो ३ बजे अदालत ल्याउने बताएपनि सवा ४ बजे मात्र ल्याए । प्रकाण्डलाई योपटक ठूलो डिब्बावाल भ्यानमा कडा सुरक्षासहित उपस्थितिका लागि ल्याएका थिए । परिसरभित्र पनि इजलास छिर्ने ढाेकैनेर रोकिएको भ्यानबाट करिब दुई दर्जन प्रहरीले घेरा हाल्दै इजलासभित्र लगे । त्यो बेला पनि संचारकर्मीलाई प्रश्न गर्ने मौकाबाट वञ्चित गराए ।

डेढ घण्टाजति इजलासमा राखिएपछि बाहिर ल्याइएका प्रकाण्डलाई ढोकैमा राखिएको भ्यानमा चढाइयो । त्यो बेला पनि पत्रकारहरुले प्रहरीको घेराबाहिरैबाट भएपनि प्रश्न सोधे । तर जवाफ दिने बेला प्रहरीले जोरजुलुम गरेर भ्यानभित्र बलपूर्वक धकेल्दै कोच्ने प्रयत्न गरिरहे । प्रकाण्ड आज पनि हत्कडीमै थिए ।

त्यति नै बेला ‘तपाईहरुलाई हिरासतमा यातना दिइया भन्नेछ नि, कस्तो यातना हो ?’ भन्ने प्रश्नमा प्रकाण्डले दुईपटक ‘हो, हो चरम यातना…’ मात्र भन्न सके । अभियोगबारे थप बोल्न खोज्दै थिए, हतियारधारी सुरक्षाकर्मीले बल प्रयोग गरेरै भ्यानभित्र पुरयाए । त्यसरी बोल्न बन्देज लगायो । प्रश्नको पूरै जवाफ सुन्न समेत दिएनन् । राज्यले प्रकाण्ड लगायत गिरफ्तारहरुलाई अपराधीलाई सरह व्यवहार गरेको प्रष्ट देखियो (हेर्नुस् तस्बिर) । यस घटनाले सरकार मानव अधिकार र राजनीतिक बन्दीमाथि गर्ने व्यवहारप्रति निर्मम रहेको पुष्टि गरेको छ ।

दुई पटक मन्त्री भइसकेका र राजनीतिक उचाई बनाइसकेका एक जना नेतालाई अपराधीलाई झैं हत्कडी लगाउनु अमानवीय र फासीवादी हर्कत भनेर चौतर्फी विरोध भइरहँदा पनि सरकारले पूरै बेवास्ता गर्दै आइरहेको छ ।

साउन २३ मा यही अदालतमा प्रकाण्डले अाफूमाथि लागेको अाराेपबारे धारणा राख्ने स्वतन्त्रता पाएका थिए । तर योपटक त्यो स्वतन्त्रताको हत्या भएको छ ।

जिल्ला प्रशासनका अगाडि भ्यानबाट ल्याउँदै नेता प्रकाण्डलार्इ ।

 अनलाइनडबलीबाट । तस्बिर: धनञ्जय बुढा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार