
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गिरफ्तार गरी हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई हत्कडी लगाउनु सरकारको फासीवादी चरित्र भएको बताएका छन् ।
आइतबार महानगरी प्रहरी परिसर टेकु हिरासतमा पुगेर प्रकाण्डसँग भेट गर्दै संयोजक डा. भट्टराइले सरकार आफ्नै गल्तीले दिनदिनै ओरालो लागेको र अब जनताले धेरैदिन थेगेर राख्न नसक्ने चेतावनी दिए ।
नेकपाले राजनीतिक कार्यक्रम र गितविधि गर्दै आइरहेको र राज्यले पनि राजनीतिक हिसाबले हल खोज्नुपर्ने भेटका क्रममा बताए ।
मन्त्री भइसकेका प्रकाण्डलाई प्रहरीले अपराधीलाई झैं हतकडी लगाएको भन्दै भेटमै विरोध गरेका थिए । साथै प्रकाण्डलगायत गिरफ्तार सबैसँग मानवीय र राजनीतिक नेताको रुपमा व्यवहार गर्न प्रहरी प्रशानसँग आग्रह गरे ।
भेटपछि दुई जनाबीच करिब झण्डै पन्ध्र मिनेट कुराकानी भएको र राजनीतिक मान्छेलाई गैरराजनीतिक मुद्दा लगाउने कोशिस सरकारबाट भएकोले यसको विरोध गर्न सबैसँग आग्रह गरिने डा. भट्टराई बताएका थिए ।
‘सरकारले प्रकाण्डमाथि हत्कडी लगाएर घोर अमानवीय व्यवहार गरेको छ, यसप्रति आपत्ति जनाउँदछु । उहाँमाथि अपराधीलाई जसरी गैरराजनीतिक विषयसँग जोडेर मुद्दा बनाउनु राजनीतिक प्रतिशोध बाहेक अन्य केही हुन सक्दैन’ डा. भट्टराईको भनाई उद्दृत गर्दै भने ‘उहाँमाथिको अभियोग फिर्ता लिएर बिनासर्त तत्काल रिहा गर्नुपर्छ ।’







