सशस्त्र प्रहरीका असईको हत्या अभियोगी प्रदेश नम्बर–२ का राज्यमन्त्री अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले सोमबारै साधारण तारेखमा छड्न ओदश दिएको छ । शर्मालाई १ नम्बर बेन्चले साधारण तारेखमा रिहा गरेको हो ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका राज्यमन्त्रीले आजै जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका थिए ।
अघिल्लो मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
उनी सोमबार बिहान ११ बजेतिर राज्यमन्त्रीको हैसियतमा प्राप्त सुरक्षाकर्मीका साथ अदालतमा उपस्थित भएका थिए ।
राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न उच्च अदालतले प्रहरीका नाममा परमादेश जारी गरेको थियो । मिश्र अझै पक्राउ परेका छैनन् ।
राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित भएका हुन् ।
मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत् सशस्त्र प्रहरीका असई थमन विकको २०७२ भदौ २५ गते हत्या भएको थियो ।
आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउनेक्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । setokhabar







