
नेपालबन्दकाे एकाबिहानै काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा शक्तिशाली बम भेटिएका छन् ।काठमाडाैं, भक्तपुरलगायत क्षेत्रमा बम फेला परेका छन् ।
यसैक्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ । सतुंगलमा रहेको सिप्रदी ट्रेडिङमा शंकास्पद वस्तु भेटिएको हो ।
शंकास्पद बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली अहिले साे स्थानमा पुगेको बताइएकाे छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने आशंका प्रहरीको छ ।
विप्लव नेतृत्वकाे नेकपाले बन्द आह्वान गरेको दिन मंगलबार अन्य स्थानमा पनि बम भेटिएका छन् । भक्तपुरकाे सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला परेका हुन् ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको बताइएकाे छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।
उता, रौतहटमा पनि शंकाष्पद वस्तु फेला परेकाे छ । चन्द्रपुर–५ स्थित पूर्व पश्चिम् राजमार्गमा रहेको लच्कामा शंकास्पद वस्तु फेला परेको हाे ।
प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बमको आशंकामा निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।







