हातहतियार तथा खरखजानाका मुद्दाका फरार प्रतिवादी तथा सत्तारुढ दल नेकपाका नेता श्याम कुमार यादव धरौटीमा रिहा भएका छन् ।

तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका पूर्व कमान्डर तथा माओवादीका पूर्व पोलिटब्यूरो सदस्य समेत रहेका फरार प्रतिवादी यादवलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले ६५ हजार धरौटीमा रिहा गरेका हुन् ।

काम विशेषले जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेका यादव मंगलवार विहान ११ बजे जिप्रका परिसरबाटै पक्राउ परेका थिए । करिब ७ घण्टा जति प्रहरी नियन्त्रणमा रहेका यादवलाई आजै जिल्ला प्रशासन कार्यालयमा लगेर बयान कार्य सम्पन्न गरिएको थियो ।

धनुषाको साबिक बालाबाखर गाबिस वडा नम्बर १ तथा हाल शहीदनगर नगरपालिका वडा नम्बर १ का ४३ वर्षीय यादव हात हतियार तथा खरखजाना मुद्दामा फरार प्रतिवादी थिए । १० मङ्सिर २०७४ मा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित निर्धनाघाट भन्ने स्थानमा चेक प्वाईन्ट खडा गरी चेक जांच गरिरहेका सुरक्षाकर्मी माथि गोली प्रहार गरिएको थियो । मोटर साइकलमा सबार भएर आएका व्यक्तिहरूले प्रहरी जवान मायाराम यादब र म्यादी प्रहरी आदर्श कुशवाहालाई गोली प्रहार गरी फरार भएका थिए । घाइते प्रहरी उपचार पछि निको भएका थिए । सोही घटनामा प्रहरीले अनुसन्धान गर्दा घटनामा ६ जनाको संलग्नता रहेको फेला पारेको थियो ।

धनुषा प्रहरीले पक्राउ परेका प्रतिवादीहरू शिब कुमार राय, मनोज राउत अमात, सुरेन्द्र कुमार रायले आफ्नो बयानमा उक्त हतियार तत्काली माओवादीका नेता श्याम कुमार यादवसंग लिएको बयान बताएका थिए । त्यसपछि प्रहरीले यादवलाई फरार प्रतिवादीको सूचीमा राखेर मुद्दा अगाडि बढाएको थियो ।

उक्त घटनामा ३ जना प्रतिबादिहरू धनुषा जिल्ला अदालतको आदेशले महोत्तरीको जलेश्वर कारागारमा थुनामा रहेका छन् भने एक जना प्रतिवादी उच्च अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

कसरी पक्राउ परे यादव ?

यादव मंगलबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटमा पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लोकान्तरसंग कुरा गर्दै यादवले भने, ‘एउटा सवारी दुर्घटना सन्दर्भमा बिगत केही दिनदेदि जिप्रका आइरहेको थिएँ, आइतवार सोही सिलसिलामा प्रहरी कर्मचारीसँग सामान्य भनाभन भएको थियो,’ यादवले लोकान्तरसँग भने, ‘आज (मंगलवार) सवारी दुर्घटनाकै घटनाको सन्दर्भमा पुग्दा मुद्दा फाँटमै प्रहरी निरीक्षक राजेश सुबेदीले नियन्त्रणमा लिएर ‘कन्ट्रोल रूम’ मा राखे । केही समयपछि जनकपुर अंचल अस्पताल लगेर स्वास्थ्य परीक्षण गराइयो । त्यस पछि जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजाना मुद्दामा बयान लिइयो ।’

यादव तत्कालीन नेकपा माओवादीका जनयुद्धकालीन कार्यकर्ता हुन् । उनी माओवादीको लडाकुमा भर्ना भएर स्क्वाड, प्लाटून, कम्पनी हुँदै बटालियन कमाण्डर समेत भएका थिए । यादवले जनमुक्ति सेनामामा तेस्रो डिभिजन, पाँचौं ब्रिगेड, शक्तिखोर चितवनका बटालियन कमाण्डर भएर काम गरेका थिए । जनयुद्ध शुरु हुँदा पार्टटाईमर कार्यकर्ता भए पनि २०५७ साल देखि उनी पूर्णकालीन (होलटाइमर)का रुपमा लडाकुमा भर्ना भएका थिए ।

२०६३ सालमा जनमुक्ति सेनाबाट पार्टीमा फर्किए पछि वाईसीएलमा धनुषाको र पछि मिथिला भोजपुराको समेत संयोजक भएर काम गरेका थिए ।

२०७० साल सम्म वाईसीएलमा रहेपछि मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारीमा पार्टीको धनुषा इञ्चार्ज बनेका थिए । बैद नेतृत्वको माओवादीमा उनी पोलिटब्यूरो सदस्यसम्म भएको थिए ।

पछि रामबहादुर थापा (बादल) नेतृत्वमा तत्कालीन एकीकृत नेकपा माओवादीमा फर्किएका थिए । एकीकरणपछि बनेको माओवादी केन्द्रमा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसम्म पाएका उनले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपामा भने कुनै जिम्मेवारी पाएका छैनन् ।

पार्टीमा भने अहिले पनि उनी संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) निकट मानिन्छन् । सोही मुद्दाका अन्य प्रतिवादीका आफन्तहरुले भने संघीय गृहमन्त्री बादलसँग निकट सम्बन्ध रहेकैले यादव धरौटी तिरेर रिहा भएको बताएका छन् । lokantar बाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार