आगामी भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअघि भारतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारका लागि करोडौंको चेक पठाएको छ ।
चुनावका बेला राष्ट्रवादी भनेर प्रचार गरेको ओली नेतृत्वले अहिले भारतकै चेक लिएर गुजारा चलाइरहेको छ । भारत सरकारले हुलाकी राजमार्ग आयोजना निर्माणका लागि ओली सरकारलाई २९ करोड ३७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलवार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
चेक रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ वटा निर्माणाधीन सडकका लागि प्रदान गरिएको हो । भारत सरकारले ती सडक बनाउन दुई अर्ब ३५ करोड रुपैयाँ प्रदान गरिसकेको छ ।
सन् १९५० देखि भारत सरकारले भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत नेपालमा राजमार्ग, सडक, पुल, विमानस्थल लगायतका पूर्वाधारको विकासका लागि सहयोग गर्दै आएको छ ।







