४ महिना लामाे प्रहरी हिरासत बसेर रिहा भएका नेकपाका केन्द्रीय सदस्य किरण रार्इसहित अर्का केन्द्रीय सदस्य दीपेश रार्इलार्इ प्रहरीले पक्राउ गरेकाे छ । दुर्इ केन्द्रीय सदस्यसहित थप दुर्इ कार्यकर्तालार्इ समेत प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्ने किरण राई नेकपाकाे कोशी ब्युरो इन्चार्ज हुन् भने दिपेश राई सगरमाथा ब्युरो इन्चार्ज हुन् । यस्तै सगरमाथा ब्युरो कार्यालय सचिव चन्द्र बुढाथोकी ‘सैलेश’ र नेकपाका कार्यकर्ता राकेश पनि पक्राउ परेका छन् ।
उनीहरु सबैलाई मंगलबार राती १२ बजे सुनसरीको धरान १६ बाट गिरफ्तार गरेको नेकपाले जनाएको छ । बर्दीमा आएका प्रहरीले मध्यरातमा पक्राउ र उनीहरुलाई कहाँ राखिएको छ भन्ने थाहा हुन नसकेको नेकपाका एकजना ब्युरोस्तरिय नेताले बताएका छन् ।
गिरफ्तार पर्नेहरु मध्य केन्द्रीय सदस्य किरण राई यो भन्दा पहिले १ सय १२ दिनसम्म हिरासत बसेर रिहा भएका थिए । पछिल्लो समय सरकारले नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गर्ने कार्य तीव्र पार्दै गएको छ ।
सो पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की र कृष्ण धमलालाई यस अघि नै पक्राउ गरी हिरासतमा राखिएको छ । यस्तै केन्द्रीय सदस्यहरु टेकबहादुर केसी र देवनारायण शाह लगायत दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी विभिन्न ठाँउमा राखेको छ ।
संविधानले दिएको अधिकार अनुसार शान्तिपूर्ण राजनीतिक कार्यक्रम, सभा, सम्मेलन गर्न पाउनुपर्ने भन्दै नेकपाले संघर्षका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
शान्तिपूर्ण गतिविधि गरिरहेका नेता कार्यकर्तालार्इ गिरफ्तार गरेर अाेली सरकारले दमनकाे बाटाे अख्तियार गरेकाे भन्दै पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाज सबैले विरेध गरेका छन्







